संसदीय निर्वाचनमा देशभरबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरेका स्वतन्त्र उम्मेदवारको पहिलो विशेष भेला सुरु भएको छ ।
शनिबार बिहान ललितपुरको सानेपास्थित हेरिटेज गार्डेन मा स्वतन्त्र उम्मेदवारहरुको पहिलो विशेष भेला शुरु भएको हो । भेला स्वतन्त्र उम्मेदवारका संयोजक डम्बर साहुले यो अभियान निकै चुनौतीपूर्ण रहेको अनुभव सुनाए ।
आफूले स्थानीय तह निर्दलीय हुनुपर्छ भन्ने मान्यताका साथ स्वतन्त्र उम्मेदवारी अभियान सुरु गरेको साहुले बताए । २ जनाबाट सुरु भएको अभियानमा अहिले हजारौँ सहभागि भएको उनले जानकारी दिए । अभियानलाई थप स्पष्ट लक्ष्यका साथ अघि बढाउने कि दलका रूपमा अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।
भेलामा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हरिशरण लामिछानेले देशभरबाट प्राप्त ऊर्जा खेर फाल्न नहुने बताए । आफू उम्मेदवार बन्नबाट पछि हट्न तयार रहेको तर युवाको ऊर्जालाई थप शसक्त बनाउने भूमिकामा सक्रिय हुनसक्ने बताए ।
अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवार बन्दा पाएको मतको सम्मान गर्दै अघि बढ्ने बताए । उनले स्वतन्त्र उम्मेदवारी अभियानलाई सफल बनाउन उद्यमशीलता कोष खडा गरिएको जानकारी दिए ।
देशभरबाट स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेका उम्मेदवारहरू भेलामा सहभागी भएका थिए । उक्त भेलाको संयोजन काठमाडौंबाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका सायमीले गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।