जसपा विभाजन हुन लागेको स्वीकार्दै बाबुरामले भने - हामी लक्ष्यविहीन भएजस्तो अवस्थामा छौँ

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी विभाजनको संघारमा पुगेको स्वीकार गरेका छन् । जसपानिकट गोरखा काठमाडौं सम्पर्क संयन्त्रको भेलालाई सम्बोधन गर्दै भट्टराईले जे लक्ष्य लिएर अघि बढेको हो त्यो प्राप्त नहुँदै तल पर्ने अवस्था आएको बताएका हुन् । 

उनले वैकल्पिक राजनीतिक यात्रामा अवरोध आएको संकेत गरेका हुन् । २०७३ सालमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा नयाँ शक्तिको स्थापना गरे पनि अहिले बाटो बिराएर लक्ष्यविहीन अवस्थामा पुगेको भट्टराईको भनाइ छ । 

'हामी कता-कता लडखडाइरहेजस्तो, बाटो विराए जस्तो, लक्ष्यविहीन भएजस्तो अवस्थामा हामी सबै छौँ । म पनि बेलाबेलामा झसङ झसङ भएर ब्यूझिन्छु । हामी कुन यात्रामा हिँडेका थियौँ, कहाँ जाँदै थियौँ, जुन उत्साहका साथ हामी लाग्यौँ, कतै हामीले बाटो त विराएनौँ, गल्ती त गरेनौँ...कही हामी थाक्न त थाकेनौँ, हरेश त खाएनौँ भन्ने मलाई पनि बोध हुन्छ,' उनले भने ।

नयाँ शक्ति निर्माणदेखि जनता समाजवादी पार्टीसम्म आइपुग्दा वालुवाको घर बनाए जस्तो भएको भट्टराईको टिप्पणी छ । समाज रुपान्तरणको अभियान रातारात पूरा नहुने भएकाले समयअनुसार पटक पटक परीक्षण गर्नुपरेको उनको भनाइ छ । 

वैकल्पिक राजनीतिको दोकान खोल्ने चलन बढेकोप्रति भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन् । कांग्रेस र कम्युनिस्टको विकल्प दिनुपर्ने भएकाले आफूले नयाँ शक्तिको अवधारणा ल्याए पनि सोचेजस्तो सफल हुन नसकेको भट्टराईले बताए । तर आफ्नो अवधारणा गलत नभएको उनको जिकिर छ । केही मुद्दामा समानता देखेर पुराना पार्टीसँग सहकार्य गर्दा असफल भएको उनको ठहर छ ।





  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार १४:३३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया