बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले तत्काल सरकार नछोड्ने
फाइल तस्वीर

नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश सरकारमा आधा–आधा कार्यकाल सञ्चालन गर्ने सहमति पालना नगर्ने भएको छ । एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलको बैठकले सरकार नछाड्ने निर्णय लिएसँगै कांग्रेससँगको सहमति पालना नहुने भएको हो । 

शनिबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा संसदीय दलको बैठक बसेको थियो । बैठकमा तत्काल सरकारको नेतृत्व नछाड्ने गरी कुरा अघि बढेको एकीकृत समाजवादी बागमतीकी सचेतक मुनु सिग्दलले बताइन् ।

‘बैठकमा तत्काल सरकार परिवर्तन नगर्ने कुरा भयो । सातै प्रदेशबारे छलफल भएर निर्णय भए आफ्नो पार्टी बाधक नबन्ने तर बागमतीको मात्रै मुख्यमन्त्री परिवर्तनको पक्षमा आफ्नो पार्टी रहेको छैन,’ सिग्दलले भनिन् । 

बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सरकारको आधा–आधा कार्यकाल नेतृत्व गर्नेगरी नेपाली कांग्रेससँग गत कात्तिक पहिलो हप्ता सरकारमा जानुअघि सहमति गरेकोले कांग्रेसले सहमति कार्यान्वयनका निम्ति निरन्तर दबाब सिर्जना गरिरहेको छ । 

पाण्डेले सहमतिअनुसार सरकार परिवर्तनका लागि मार्गप्रशस्त गर्नुपर्ने भन्दै कांग्रेस र माओवादीका सांसदहरुले हस्ताक्षर संकलन गरिसकेका छन् ।

बागमती प्रदेशसभामा कुल १ सय ७ जना सांसद छन् । सरकार निर्माण गर्न कम्तिमा ५४ जना सांसद हुनुपर्दछ । प्रदेशसभामा माओवादी २३, नेपाली कांग्रेस २२, एकीकृत समाजवादी १३ र जसपाको एकसहित ५९ सांसद छन् । प्रमुख प्रतिपक्षी एमालेसँग ४१, विवेकशील दलसँग ३, राप्रपा र नेमकिपाका २/२ सांसद छन् ।





  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार १६:१७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया