निजगढ विमानस्थल बनाउन गठबन्धन एक मत, स्थानीय खुसी

गत ज्येष्ठ १२ गते निजगढ विमानस्थल बनाउन रोक लाएको सर्वोच्चले गत असार १५ गतेको पूर्णपाठमा जैविक विविधताको न्यूनतम क्षति हुने गरी सरकारले विमानस्थल निर्माण गर्न सक्ने भनेपछि प्रधानमन्त्रीसहित पाँचदलीय गठबन्धनका नेताहरूले पहिलोपटक निर्माण क्षेत्रको अवलोकन गरेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्र टाँगियाबस्तीको निरीक्षण गरेका हुन् । शनिबार बिहान करिब १०ः३० मा प्रधानमन्त्री देउवासहित नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी  पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतको जम्बो टोली शनिबार निजगढ विमानस्थलको प्रस्तावित क्षेत्र टाँगियाबस्तीको हवाई निरीक्षण गरेको हो । 

टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, वन तथा वातावरण मन्त्री रामसहाय यादव, खानेपानी मन्त्री उमाकान्त चौधरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि सहभागी रहेका थिए । 

नेपाली सेनाको हेलिकप्टरमार्फत निजगढ आएका प्रधानमन्त्री देउवासहितको टोलीले करिब २० मिनेटसम्म टाँगियावस्थितको हवाई निरीक्षण गरेको थियो । निरीक्षणको क्रममा टोलीले टाँगियाबस्ती, काटँघाट बस्ती र आसपासको वन क्षेत्रको पनि निरीक्षण गरेको हो ।

प्रस्तावित विमानस्थल निर्माण क्षेत्रको निरीक्षणपछि टोलीले निजगढमा रहेको नेपाली सेनाको फास्टट्याक (काठमाडौं तराई मधेस द्रुतमार्ग) विकास निर्माण दल जिरो किमीमा सरोकारवाला कार्यालयका प्रमुख र बाराका स्थानीय निकायका प्रमुखहरूसँग भेट गरेर भ्रमणको बारेमा जानकारी गराएको थियो । 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकार प्रतिबद्धः प्रधानमन्त्री देउवा



प्रधानमन्त्री देउवाले गठबन्धन सरकार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रतिबद्ध रहेको बताए । उनले सर्वोच्च अदालतको पूर्णपाठमा निजगढ विमानस्थल निर्माण नगर्नु नभनेकोले निजगढमा नै विमानस्थल बनाइने बताए । विमानस्थल र फास्टट्र्याक एकअर्काका परिपूरक आयोजना भएकोले पनि विमानस्थल निर्माण गरिनुपर्ने उनको भनाइ थियो ।

 ‘हामीले फास्टट्र्याक किन बनाएको ? उनले भने, एयरपोर्टको लागि बनाएको हो ।’ एयरपोर्टमा आउने र जाने मानिसहरूलाई काठमाडौं लैजान र ल्याउन फास्टट्र्याक निर्माण गरिएको हो,’ उनले भने, ‘एयरपोर्ट बनेन भने फास्टट्र्याकको समेत काम छैन ।’ प्रधानमन्त्री देउवाले देशमा ४ लेन धावनमार्गको विमानस्थल आवश्यक रहेको भए तापनि तत्कालको लागि निजगढमा २ लेन धावनमार्गसहितको विमानस्थल बनाइने बताए । 



उनले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिक जाम हुने समस्याले गर्दा भारतको दिल्ली र बंगलादेशको ढाका लगाएको स्थानमा डाइभर्ट गर्नुपर्ने अवस्था रहेको हुँदा कुनै पनि हालतमा निजगढमा सुविधा सम्पन्न विमानस्थल निर्माण गरिनु पर्ने बताए । 

निजगढ विमानस्थल निर्माण नभए अर्वौं लगानी गरेर फास्टट्यक निर्माण गर्नुको औचित्य छैनः प्रचण्ड

गठबन्धनका नेता, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष प्रचण्डले निजगढमा विमानस्थल निर्माण गर्ने विषयको सम्बन्ध फास्टट्र्याकसँग पनि भएको बताए । ‘निजगढ विमानस्थल निर्माण हुन सकेन भने अर्वौं लगानी गरेर फास्टट्र्याक निर्माण गर्नुको औचित्य छैन, उनले भने, फास्टट्र्याकको डिपिआर बनाउँदा नै निजगढ विमानस्थलको आवश्यकतालाई अध्ययन गरेर तयार पारिएको हो ।’ 

पहिले पनि धेरै मनन, अध्ययन तथा छलफल गरेर विमानस्थलको लागि निजगढ सबैभन्दा उपयुक्त क्षेत्रको रूपमा छनौट भएको भन्दै अध्यक्ष प्रचण्डले अर्बौं लगानी भइसकेको र देशको गौरवको आयोजनाको रूपमा रहेको यो आयोजनालाई सरकारले दृढताका साथ अघि बढाउने जरुरी भएको बताए । 

देशमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जरुरीः माधवकुमार नेपाल

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सर्वोच्च अदालतको फैसलामा देशमा अन्तर्राष्ट्रिय सुविधासम्पन्न विमानस्थल निर्माण गर्न जरुरी रहेको ठहर भएको जानकारी दिए । उनले अदालतको पूर्णपाठमा कस्तो र कतिवटा विमानस्थल निर्माण गर्ने भन्ने कुराको निर्क्यौल गर्ने जिम्मा कार्यपालिकालाई दिएको भन्दै अब सरकारले निर्णय गरेर निजगढ विमानस्थल निर्माण गर्नुपर्ने बताए । 

उनले अदालतले निजगढमा एयरपोर्ट सिटी बनाउने कुरामा रोक लगाएको पनि जानकारी दिए । ‘सर्वोच्च अदालतको पूर्णपाठमा वातावरणीय क्षति कम होस भन्नेमात्रै आशय देखिएको छ, नेता नेपालले भने, अदालतको फैसलालाई ध्यानमा राखेर वन जंगलको कमभन्दा कम क्षति हुने गरी निजगढमा नै विमानस्थल बनाउनुपर्छ ।’ 

बाढीपीडितलाई राहत बाँडेजस्तो नहोस् बस्ती स्थानान्तरणः उपेन्द्र यादव

गठबन्धनका अर्का नेता उपेन्द्र यादवले राष्ट्रिय आवश्यकता पूरा गर्नकै लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक भएको हुँदा गफ मात्रै नगरेर काम अगाडि बढाउनुपर्ने बताए । उनले विमानस्थल निर्माण क्षेत्रमा पर्ने बस्तीको व्यवस्थित स्थानान्तरणमा ध्यान दिनुपर्ने कुरा बताए । ‘यस क्षेत्रमा रहेका पुराना वस्तिका जनताले घरबारविहीन हुनु नपरोस्, उनले भने, बाढी पीडितलाई राहत बाँडेजस्तो नहोस् ।’ 

विकास निर्माणका आयोजना सञ्चालन गर्दा जैविक विविधता संरक्षणलाई पनि ध्यान दिनुपर्ने र न्यूनतम रुख फडानी हुने गरी विमानस्थल निर्माण गर्नुपर्ने बताए । उनले आयोजना निर्माण हुँदा काटिएका रुखको बदलामा काटिएका रुखभन्दा बढी वृक्षारोपण गरिनुपर्ने पनि बताए । नेता यादवले भने, निजगढ विमानस्थलमा पनि जैविक विविधता नोक्सानलाई कमभन्दा कम क्षति हुने गरी काम गरौँ ।’
 
कानुनी र अन्य प्रक्रिया पूरा गरेर विमानस्थल निर्माण कार्य चाँडै सुरुः दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्षले दुर्गा पौडेलले निजगढ विमानस्थल निर्माण गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिइसकेको बताउँदै आवश्यक कानुनी र अन्य प्रक्रिया पुरा गरेर चाँडै विमानस्थल निर्माण कार्य सुरु गर्नुपर्ने बताइन् । 

विमानस्थल बन्ने सुनिश्चितता भयोः सुरथ पुरी

प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताले निजगढमा गठबन्धन सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रतिबद्ध रहेको हुँदा अब यस ठाउँमा विमानस्थल बन्ने सुनिश्चित भएको निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले बताए । 

‘प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरूले यस क्षेत्रमा विमानस्थल बनाउने प्रतिबद्धता गरेको हुँदा हामी आशावादी छौँ । कुनै दबाब र प्रभावमा नभई यहाँको भूगोल र देशको राजधानी काठमाडौंसँगको निकटता र आवश्यकताले निजगढमा सञ्चालन गर्न लागिएको योजना हो यो ।’ 

नगरपालिकाका नगरप्रमुख पुरीले भने, ‘देशलाई काठमाडौंबाट नजिकैको स्थानमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको छ र हवाई दूरीबाट निजगढ काठमाडौंबाट २५र३० किमी मात्र टाढा पर्ने भएकोले पनि निजगढ निर्विकल्प सबैभन्दा उपयुक्त र निर्विकल्प स्थान हो ।’ 

स्थानीयमा छायो खुसी

निजगढका स्थानीयले सर्वोच्चको यसअघिको फैसलापछि निजगढमा नै विमानस्थल निर्माण गरिनुपर्ने भन्दै पूर्वपश्चिम लोकमार्गमा गर्दै आएको रिले अनशन बिहीबारबाट अन्त्य भएको छ । विमानस्थल निर्माण सम्बन्धमा सर्वोच्च अदालतले बुधवार सार्वजनिक गरेको पूर्णपाठलाई सकारात्मक भन्दै समितिले २४ दिनअघि देखि गर्दै आएको रिले अनशन अन्त्य गर्ने निर्णय गरेको हो । 

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले अनशनकारीलाई जुस खुवाएर अनसन तोड्न लगाएका हुन् । विमानस्थल निर्माणको माग राखेर निजगढको सहिद चोकमा अनशन हुँदै आएको थियो । निजगढ विमानस्थल निर्माणको माग राखेर समितिले ज्येष्ठ २४ गतेदेखि निजगढको सहिद चोकमा रिले अनशन सुरु गरेको हो । 

निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरूले विमानस्थल निर्माण नगर्ने अदालतको यसअघिको ज्येष्ठ १२ को फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै सोही दिन देखिनै राँके जुलुस, पूर्वपश्चिम लोकमार्गमा चक्काजाम र प्रदर्शन गर्दै आएका स्थानीयमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरूले यस क्षेत्रमा विमानस्थल बनाउने प्रतिबद्धता गरेसँगै खुसी छाएको निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले बताए ।

निजगढ विमानस्थल बनाउन यस अघि नै परियोजनाले जग्गा प्राप्ति, आयोजना क्षेत्रको घेराबारा अनि नदी नियन्त्रणको काम समेत सम्पन्न गरिसकेको छ । यस्तो अवस्थामा आएर अन्यत्र विमानस्थल बनाउँदा देशलाईनै निकै आर्थिक भार थपिने भएको हुँदा पुनः नयाँ शिराबाट निजगढमै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको अर्का विकल्प समेत छैन । 

सर्वोच्च अदालतले बुधबार जारी गरेको फैसलाको पूर्णपाठमा समेत ‘वातावरणीय अध्ययन, कानुनी विधि, जग्गाको क्षेत्रफल र प्राविधिक दृष्टिले उपयुक्त स्थानमा विमानस्थल निर्माण गर्नू’ भन्ने सर्वोच्चको आदेशले विमानस्थल बनाउन कुनै पनि ठाउँ विशेषलाई बन्देज लगाएको छैन, जसका कारण नयाँ शिराबाट निजगढमै राष्ट्रिय गौरवको परियोजनामा रहेको निजगढ विमानस्थल बनाउने विकल्प खुला भएको हो ।

  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार २०:४४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया