सहरको धुवाँधुलो मुक्त र कोलाहलरहित वातावरणको खोजीमा हुनुहुन्छ भने चम्पादेवीको जंगल आकर्षक गन्तव्य हुनसक्छ । साताभरिको थकान बिसाउन अहिले धेरैको रोजाइमा परिरहेको छ चम्पादेवी ।
विशेषगरी चम्पादेवी हाइकिङ गर्नेहरूको प्रमुख रोजाई बनिरहेको छ । चन्द्रागिरि–चम्पादेवी, कीर्तिपुर–चम्पादेवी, टौदह–बोसन गाउँ–चम्पादेवी र दक्षिणकाली–हात्तिवन रिर्सोट–चम्पादेवीको रुटबाट गन्तव्यमा पुग्न सकिन्छ ।
चन्द्रागिरिबाट चम्पादेवीको चचुरोमा पुग्न अन्य रुटबाट केही कठिनाइ छ । चन्द्रागिरीबाट चम्पादेवी पुग्न भालेश्वर मन्दिरलाई पहिलो गन्तव्य बनाउनुहोस् । त्यसपछि भष्मासुरडाँडा हुँदै चम्पादेवीको पुग्ने बाटो समात्न सकिन्छ ।
चम्पादेवी पुगेपछि अन्य रुटबाट ओर्लदा सहज हुन्छ । जति चन्द्रागिरिबाट चम्पादेवी पुग्न कठिनाइ हुन्छ फर्किदा त्यत्तिकै आनन्द आउँछ । चन्द्रागिरिबाट चम्पादेवीको दूरी झण्डै २५ किलोमिटर छ ।
चम्पादेवीको चुचुरोमा पुग्न कीर्तिपुरको बाटो पनि समात्न सकिन्छ । कीर्तिपुरको मच्छेगाउँ नियाल्दै आरामले गन्तव्यमा पुगिन्छ । चम्पादेवीको यात्रा थाल्नुअघि पुष्पलाल पार्कको अवलोकन पनि गर्न सकिन्छ । यो रुटमा सडक पनि निर्माण हुँदैछ । सडकलाई पछ्याउँदै अगाडि बढेमा सहजै चम्पादेवीमा पुग्न सकिन्छ ।
सडक भत्केकाले बीचबीचमा यात्रामा कठिनाइ भने आउनसक्छ । यद्यपि ठाडो उकालो नभएकाले यो रुटबाट यात्रा गर्दा आनन्द आउँछ । त्यस्तै, दक्षिणकाली जाने बाटोमा अवस्थित अर्थात् काठमाडौंबाट ७ किलोमिटर दूरीमा रहेको टौदह अवलोकन गर्दै उकालो चढ्दा पनि चम्पादेवीको दर्शन गर्न मिल्छ । यदि सवारीसाधनका साथ यात्रा गर्दै हुनुहुन्छ भने बोसन गाउँसम्म सडकको सुविधा छ । त्यहाँ सवारी रोकेर यात्रा थाल्न सक्नुहुन्छ ।
टौदहबाट बोसन गाउँ पुग्न छोटो बाटो समात्दा निकै उकालो पर्ने भएकाले बढी नै थकान लाग्न सक्छ । बोसन गाउँ पुगेपछि जंगलैजंगलको बाटो समातेर उकालो चढ्नुपर्छ ।
ठाउँ चिनाउने सामग्रीहरूको व्यवस्था नगरेकाले यात्रा गर्दा केही अन्योल हुनसक्छ । तर, बाटो नबिराएर हिँड्यो भने गन्तव्यमा पुग्न गाह्रो छैन । यहाँबाट चुचुरोमा पुगेपछि कीर्तिपुरको रुटबाट ओर्लिन पनि सकिन्छ । बर्खामा तौटदह रुटबाट चम्पादेवीको यात्रा गर्दा जुकाले भने केही समस्या दिन्छ । तुलनात्मकरूपमा कीर्तिपुरको रुटमा भने जुकाको समस्या हुँदैन ।
त्यस्तै, चम्पादेवीको चुचुरोमा पुग्ने अर्को रुट हो– दक्षिणकाली–हात्तीवन रिर्सोट । यो रुटबाट यात्रा आरम्भ गर्दा दक्षिणकाली नजिकै रहेको भन्ज्याङ भन्ने स्थानलाई पहिलो गन्तव्य बनाउन सक्नुहुन्छ । भन्ज्याङमा श्रीकृष्ण मन्दिर पनि छ । त्यसको दर्शन गरेर हात्तीवन रिर्सोट जाने बाटो पछ्याउँदै चम्पादेवीतर्फ यात्राको आनन्द लिन सकिन्छ । हात्तीवन रिर्सोटबाट झण्डै २ घण्टा उकालो चढेपछि चम्पादेवीको चुचुरोमा पुगिन्छ ।
धेरैबाट चम्पादेवीको चुचुरोमा पुग्न सकिने भएकाले हाइकरहरूलाई निकै सजिलो छ । जंगल र डाँडाको यात्रामा चराचुरुङ्गीहरूको आवाज मिसिँदा थप रोमाञ्चक बन्छ । डाँडाहरूबाट काठमाडौं मज्जाले देखिने भएकाले तस्बिर नखिची यात्रा गर्न मन लाग्दैन । मौसम सफा भएको दिन टन्टलापुर घाम लागे पनि हावाले एकछिनमै चिसो कूल बनाउँछ ।
मञ्जुश्रीले चोभारबाट काठमाडौं उपत्यकाको पानी निकास खोल्नुअघि चम्पादेवी र फूलचोकीमा आफ्ना दुई श्रीमतीलाई सुरक्षित साथ राखेका थिए भन्ने पौराणिक मान्यता छ । हाल पनि चम्पादेवीको चुचुरोमा मन्दिर छ । मन्दिर दर्शनका लागि अहिले पनि यहाँ टाढा–टाढाबाट दर्शनार्थीहरू आउने गर्छन् । पर्यटकीय र धार्मिक आस्थाको केन्द्र बनेको चम्पादेवी मन्दिर काठमाडौं उपत्यकाको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित छ । यो मन्दिर समुद्री सतहदेखि २२७८ मिटरको उचाइमा छ ।
तस्बिरमा हेरौं चम्पादेवीको हाइकिङ :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।