प्रादेशिक शैक्षिक हब निर्माणको योजनामा वीरेन्द्रनगर

वीरेन्द्रनगरलाई प्रादेशिक शैक्षिक हबका रूपमा विकास गर्न वीरेन्द्रनगर नगरपालिका अघि बढेको छ । वीरेन्द्रनगरलाई प्रादेशिक शैक्षिक हब निर्माण गर्ने उद्देश्यले वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४५ करोड बढी बजेट विनियोजन गरेको छ ।

शिक्षामा क्षेत्रमा सशर्त ४० करोड ५८ लाख र आन्तरिक श्रोततर्फ चार करोड ३३ लाख ५० हजार गरी आगामी आर्थिक वर्षका लागि जम्मा ४४ करोड ९१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको नगर उपप्रमुख निलकण्ठ खनालले बताए । आगामी आर्थिक वर्ष २०७९/०८० का लागि वीरेन्द्रनगरले कुल एक अर्ब ९४ करोड ११ लाख १२ हजार पाँच सय रुपैयाँको बजेट ल्याएको थियो । 

नगरपालिकाको शैक्षिक योजना सहित प्रादेशिक शैक्षिक हबको गन्तव्य बन्ने आधार तयार गर्ने उद्देश्यका साथ वीरेन्द्रनगर नगरपालिका अघि बढेको बताइएको छ । आगामी आर्थिक वर्षका लागि विनियोजित गरिएको बजेटले गुणस्तरीय विद्यालय शिक्षामा सबै बाल बालिकाहरूको समतामूलक पहुँच सुनिश्चित गर्ने नगरपालिकाको विश्वास छ ।

यसै गरी वीरेन्द्रनगर नगरपालिकालाई उत्कृष्ट शैक्षिक केन्द्र बनाउने योजनाका साथ १० वर्षे शिक्षा क्षेत्र योजना (ईएसपी) स्वीकृत गरी आगामी आर्थिक वर्षदेखि उक्त योजनाका आधारमा शिक्षासम्बन्धी कार्यक्रम क्रमशः सञ्चालनका लागि बजेट विनियोजन गरिएको उपप्रमुख खनालले बताए ।

यसका साथै ‘म बनाउँछु, मेरो शैक्षिक हब’ विकास कोष खडा गरी प्रभावकारी रूपमा शैक्षिक गतिविधि सञ्चालन तथा कोष व्यवस्थापन गर्न नगरपालिकाको तर्फबाट १० लाख रुपैयाँको शिक्षा विकास कोष स्थापना गरिने भएको छ । यसका लागि आगामी आर्थिक वर्षका लागि समेत बजेट विनियोजन भइसकेको छ । बाल विकास शिक्षक, विद्यालय सहायक, सहयोगी र सामुदायिक सिकाइ केन्द्रका परिचालकहरूको मनोबल उच्च बनाउँदै आफ्नो काम प्रति पूर्ण बफादार बनाई राख्न उनीहरूले खाइपाई आएको साबिकको तलब मानमा वृद्धि गरी १५ हजार पुर्‍याइएको छ ।

सबै माध्यमिक विद्यालयहरूलाई इन्टरनेटको सुविधा प्रयोगलाई नगरपालिकाले अनिवार्य समेत गरेको छ । विद्यालयमा उपयुक्त प्रविधिको माध्यबाट इन्टरनेट पहुँच विस्तारको लागि आवश्यक बजेट विनियोजन गरिएको नगर उपप्रमुख खनालले बताए । यसै गरी नगर क्षेत्रमा रहेका विद्यालयका कच्ची र जीर्ण टिन विस्थापित गरी प्रदेश सरकारको साझेदारीमा प्राथमिकताको आधारमा विद्यालयको समेत छाना सुधार गर्न ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए । यता कर्णाली प्रदेश सरकाले समेत विद्यालयहरूमा भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ । 



लेकवेशी नगरपालिका–१० स्थित चन्द्र ज्योति माध्यमिक विद्यालय, चन्द्रपुरमा चार कोठे विद्यालय भवन निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । सिम्ता गाउँपालिका–६ स्थित बागेश्वरी माध्यमिक विद्यालय, चिंगाड गाउँपालिका–६ भोर्जेनी स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा चार कोठे भवन निर्माणका लागि प्रदेश सरकारले प्रति विद्यालय ४०/४० लाख रुपैयाँ विनियोजन गरेको छ । यसै गरी गुर्भाकोट नगरपालिका कोप्ची स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयमा समेत ४०÷४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । भेरीगंगा नगरपालिका स्थित जनज्योति माध्यमिक विद्यालयका लागि भवन निर्माण तर्फ ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिए ।

विद्यालय पुनः निर्माणमा एनएमबि बैंकको सहयोग 



वीरेन्द्रनगर–१६ स्थित सरस्वती प्राथमिक विद्यालयको भवन पुनः निर्माण भएको छ । विद्यालयको भवन पुनः निर्माणका लागि विद्यालयलाई एनएमबि बैंकले सहयोग गरेको हो । गत जेठ ६ गते आएको हावाहुरीले सरस्वती प्राथमिक विद्यालयमा जस्ताको छाना उडाएपछि विद्यार्थी एकै कोठामा फरक–फरक कक्षा अध्ययन गर्न बाध्य थिए ।

विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले भने, ‘विद्यालयको छाना उडाएपछि हामी एकै कोठामा फरक–फरक कक्षाका विद्यार्थीलाई पढाउन बाध्य थियौँ । सहयोगका लागि स्थानीय तह लगायतसँग अनुरोध पनि गरेका थियौँ । चालु आर्थिक वर्ष २०७८/०७९ को अन्तिम समय रहेकाले स्थानीय तहले विद्यालयलाई तत्काल सहयोग गर्न सक्नुभएको थिएन । यस बिचमा एनएमबि बैंकले सहयोग गरेपछि विद्यालय परिवार उहाँहरूलाई धन्यवाद दिन चाहन्छ ।’

विद्यालयको मुख्य अभिभावक रहेको वीरेन्द्रनगर नगरपालिकाले तत्काल नै उक्त विद्यालयमा भवन पुनः निर्माणको काम अघि बढाउन सकेको थिएन । चालु आर्थिक वर्ष २०७८/०७९ को अन्तिम समय भएकाले पनि नगरपालिकासँग विद्यालय पुनः निर्माणका लागि बजेट अभाव नै रह्यो । यस बिच नगर कार्यपालिकाको पहिलो बैठकले वीरेन्द्रनगरमा हावाहुरीको कारण क्षति पुगेका विद्यालयहरूको पुनः निर्माणका लागि स्रोतको खोजी गर्ने समेत निर्णय गरेको थियो । 

चार वटा कोठा रहेको विद्यालय भवनको ‘धुरीबला’ सहित पुरै जस्तापाता नै हावाहुरीले उडाएको थियो । यसका साथै भवनको भित्तामा समेत क्षति पुगेको थियो । २०५४/५५ सालमा निर्माण भएको उक्त भवन पटक पटक पुनः निर्माण भएको समेत हो । यस यसपालि भने एनएमबि बैंकको प्राविधिक सहितको टोलीले विद्यालयको स्थलगत निरीक्षण गरी पुनः निर्माण गर्न सकिने जनाएपछि भवन निर्माण प्रक्रिया अघि बढेको थियो ।

बैंकका क्षेत्रीय प्रबन्धक मित्रराज प्याकुरेलले भने, ‘हावाहुरीको कारण भवनमा पुगेको क्षति अध्ययन गरी हामीले पुनः निर्माणको काम अघि बढाएका थियौँ । असारको पहिलो सातादेखि नै पुनः निर्माणको काम सुरु भएको थियो । करिब दुई सातामा विद्यालय भवन पुनः निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेका छौँ ।’

स्थानीय स्तरमा पुनः निर्माणका लागि सामाग्री नपाउने भएकाले पनि पुनः निर्माणका ढिलाइ भएको प्याकुरेलको भनाई छ । उनले भने, ‘बालुवा गिट्टीलगायतका सामाग्री सबै यताबाट लैजानुपर्ने भएकाले पनि पुनः निर्माणमा दुई साता लाग्यो । नत्र अझै चाँडो हुने थियो ।’ 

हावाहुरीले क्षति पुर्याउँदा विद्यालयको पठनपाठनमा अवरोध पुगेपछि बैंक र विद्यालय बिच राजनीतिज्ञ तथा व्यवसायी उपेन्द्र खड्काले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । बैंकलाई विद्यालयको पुनः निर्माणका प्रेरित गर्ने र विद्यालयलाई सहयोग आउन सक्ने स्रोतको बारेमा खड्काले नै जानकारी दिएका थिए ।  

  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार १३:२१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया