बोर्डलाई सञ्चारमन्त्रीको निर्देशन : एक हप्ताभित्रै अनुभूति हुनेगरी आचारसंहिता कार्यान्वयन गर्नू

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धी आचारसंहिता एक हप्ताभित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिएका छन् । 

विज्ञापन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सो आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले यस्तो निर्देशन दिएका हुन् । उनले विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउनका लागि जारी गरिएको सो आचारसंहिताको प्रभावकारी कार्यान्वयन नभएसम्म त्यसलाई ऐतिहासिक र महत्वपूर्ण भन्न नसकिने पनि स्पष्ट पारे ।

सरोकारवाला पक्षहरूसँग धेरै छलफलपछि जारी गरिएको सो आचारसंहिताले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विकृति र विसंगतिको अन्त्य गर्दै समाजलाई पनि लाभान्वित बनाउने मन्त्री कार्कीले विश्वास व्यक्त गरे । उनले सो आचारसंहिता कार्यान्वयनमा कुनै व्यवधान खडा भए आफ्नो मन्त्रालय त्यसलाई तत्काल हटाउन लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

‘यो आचारसंहितामा अहिले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विसंगति र विकृतिहरूलाई अन्त गर्दै यसले यो क्षेत्रलाई मात्रै होइन समाजलाई पनि लाभान्वित गर्न सक्यो भने यो ऐतिहासिक हुन सक्दछ । होईन भने हामीहरूले शब्द खर्चेर मात्रै यसको प्रभावकारिता हुन सक्दैन । र, मलाई विश्वास छ । यो प्रभावकारी हुनेछ । ऐतिहासिक पनि हुनेछ भन्ने मैले आशा लिएको छु । विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउनका लागि आज जारी आचारसंहिताले अर्को हप्तादेखि नै समाजमा प्रभाव दिन सकोस्,’ मन्त्री कार्कीले भने ।  

उनले मुलुकलाई चाँडै सभ्य तथा सुन्दर बनाउन स्वतन्त्रता र अनुशासनलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकतासमेत औंल्याए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञापन बजारमा देखिएका विसंगतिहरूलाई समाधान दिने गरी सो आचारसंहिता जारी गरिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा केन्द्रित हुन विज्ञापन बोर्डलाई आग्रह गरे । उनले सो आचारसंहिता कार्यान्वयनमा जटिलता आए त्यसलाई सहज ढंगले सम्बोधन गर्न पनि विज्ञापन बोर्डलाई सुझाव दिए । 

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन क्षेत्रमा देखिएका सबै खालका विकृति, विसंगतिको अन्त्य गर्दै विज्ञापन व्यवसायमा आवद्ध सबैलाई जिम्मेवारी बनाउने उद्देश्यका साथ सो आचारसंहिता निर्माण गरी लागू गरिएको बताए । उनले सरोकारवाला पक्षसँग पटकपटक छलफल गरी लागू गरिएको सो आचारसंहिताको कार्यान्वयन पनि सहज ढंगले हुने विश्वास व्यक्त गरे ।  





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार १३:५८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया