एसपीपी अस्वीकार गरेको पत्र अमेरिकालाई पठाइसकेका छैनौँ, अध्ययन गर्दैछौँ : परराष्ट्र

परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबारे अमेरिकालाई पत्र पठाउने काम भइनसकेको बताएको छ ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपी प्रोग्रामबारे नेपाल सरकार मन्त्रिपरिषदले गरेको निर्णय मन्त्रालयमा आएको तर अध्ययन भइरहेका बताएकी हुन् ।

उनले भनिन्, ‘एसपीपीको पहिले भएको पत्राचारमा परराष्ट्र मन्त्रालय सहभागी थिएन । अब हामीलाई नेपाल सरकार मन्त्रिपरिषदको निर्णयअनुसार एउटा म्यानुअल प्राप्त भएको अवस्था छ । परराष्ट्र मन्त्रालयले सबै कुरा स्टडी गरेर मात्रै त्यसको पत्राचार गर्नुपर्ने भएकाले अहिले त्यसलाई अध्ययन गर्ने क्रममै छौं । र, यसलाई उपयुक्त समयमा डिप्लोम्याटिक च्यानलबाट नेपाल सरकारको मन्त्रिपरिषदको सो निर्णयलाई कार्यान्वयन गर्छौं ।'

प्रवक्ता लम्सालले अध्ययन भइसकेपछि मन्त्रिपरिषदको सो निर्णय कार्यान्वयन हुनेमा भने ढुक्क हुन पनि पत्रकारलाई आग्रह गरिन् ।

परराष्ट्र मन्त्रालयले विगत ३ महिनायता राहदानी लिनेहरूको संख्या उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट पनि राहदानी लिनका लागि नियमित रुपमा राहदानी आवेदन भर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराएको छ ।

त्यसैगरी राहदानी लिनका लागि सहज बनाउन राहदानी विभागले अनलाइन सेवालाई पनि चुस्त राख्ने काम गरिरहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले बताइन् ।



परराष्ट्र मन्त्रालयका अनुसार राहदानी विभागबाट असार १५ गतेसम्म ४ लाख १६ हजार २३५ थान विद्युतीय राहदानी प्रिन्ट गरिएको छ ।



  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार १६:१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया