वीरगञ्ज महानगरपालिका सार्वजनिक गर्‍यो श्वेतपत्र
फाइल तस्वीर

मधेस प्रदेशमा रहेको वीरगञ्ज महानगरपालिकाले आज श्वेतपत्र सार्वजनिक गरेको छ । डा. दीपेन्द्रकुमार चौधरीको संयोजकत्वमा रहेको नौ सदस्यीय टोलीले तयार पारेको श्वेतपत्र  एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । 

सो अवसरमा महानगरपालिकाको आर्थिक, सामाजिक, शैक्षिक र पूर्वाधारलगायत विभिन्न परियोजनाको वर्तमान अवस्थाबारे आमनगरवासीलाई जानकारी दिन श्वेतपत्र सार्वजनिक गरिएको महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाले सार्वजनिक गरेको ३८ पृष्ठको श्वेतपत्रमा जनशक्तिको चर्को अभाव रहेको पालिकाभित्र सम्पन्न भइसकेका वा सम्पन्न हुन बाँकी रहेका ठूला आयोजना सम्झौताअनुसार निर्माण तथा सञ्चालन नभएको उल्लेख गरिएको छ । 

महानगरपालिकामा कायम रहेको कूल दरबन्दीको ३८ प्रतिशत जनशक्ति मात्र रहेको छ भने फोहर व्यवस्थापन केन्द्र, पानी प्रशोधन केन्द्र, अस्पतालजन्य फोहर व्यवस्थापन केन्द्रलगायत ठूला परियोजना सम्झौताअनुसार सञ्चालनमा नरहेको संयोजक चौधरीले जानकारी दिए । 

उनले अगाडिको नेतृत्वको कमजोरीका कारण प्रतिकिलो पाँच रुपैयाँ ४२ पैसाको लागतमा फोहर संकलन भइरहेको दाबी गरे । उनका अनुसार महानगरपालिकाभित्रका ८० प्रतिशत करदाता करको दायरामा नआएका कारण महानगरपालिकाको राजस्व सङ्कलनमा चाप थपिएको छ भने भौतिक पूर्वाधारमा ठूलो कमजोरी देखिएको छ । 

नगरप्रमुख राजेशमान सिंहले पहिलेको नेतृत्वको कमीकमजोरीका कारण महानगरपालिका आर्थिक तथा भौतिकरूपमा कमजोर भएको जानकारी दिए । उनका अनुसार पालिकामा बेरुजु बढ्दै गएको छ भने निर्माण भएको ठूला पूर्वाधार एक वर्ष नबित्दै मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । 



महानगरपालिकाको वर्तमान अवस्थाबारे आमनगरवासीलाई जानकारी दिन श्वेतपत्र  ल्याउन जरुरी रहेको उल्लेख गर्दै महानगरप्रमुख सिंहले वीरगञ्जको विकासले नै सबैको विकास हुने बताए ।



  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार २०:४५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया