बाबुराम भट्टराई पक्षकालाई मन्त्री बनाउँदा जसपामा उपेन्द्र पक्ष बन्यो बलियो

पार्टीको आन्तरिक कलहमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई साथ दिँदै आएका दुई नेतालाई मन्त्रीमा सिफारिस गरेसँगै उपेन्द्र यादव जनता समाजवादी पार्टीमा पुनः बलिया हुन पुगेका छन् ।

विगतमा भट्टराईलाई साथै दिँदै आएकामध्ये भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई र वन मन्त्रीमा प्रदीप यादवलाई सिफारिस गरेसँगै यादव आन्तरिक राजनीतिमा बलियो हुन पुगेका हुन् ।

‘इस्तियाक राई, प्रदीप यादव मन्त्रीमण्डलमा पर्नुभयो, महेन्द्र (महेन्द्रराय यादव)जी पनि उपेन्द्रतिर नै आउनु भएको छ, अब बाबुराम जीसँग त को होला र ?,’ जसपा प्रमुख सचेतक प्रमोद साहले भने, ‘यो घटनाक्रमले त उपेन्द्रजी पार्टीमा स्वतः बलियो हुनु भएको छ ।’ उनका अनुसार मन्त्रीमण्डलमा सिफारिस भए लगत्तै जसपा नेपालको आन्तरिक कलह पनि सकिएको छ ।

पछिल्लो केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णय अनुसार ‘तीन सदस्यीय हेड क्वाटर’ अर्थात् यादव, भट्टराई र अशोक राईको सहमतिमा मात्रै कुनै पनि महत्त्वपूर्ण निर्णय लिने भन्ने सहमतिलाई यादवले उल्लंघन गरेको, पार्टीलाई मनोमानी रूपमा चलाउन खोजेको, स्थानीय तहको निर्वाचनमा एकलौटी रूपमा टिकट वितरण गरेको, ‘हेड क्वाटर’को अवधारणा विपरित मन्त्रिमण्डल सिफारिसमा एकलौटी अधिकार लिएको विषयमा यादव र भट्टराई पक्षबीच आन्तरिक संघर्ष चल्दै आएको थियो । 

आफ्नो विरुद्ध हस्ताक्षर अभियानसमेत चलाएका नेताहरू राई र यादवलाई नै मन्त्रीमा सिफारिस गरेर यादवले बाबुराम ‘फ्याक्टर’लाई कमजोर बनाएका छन् । अब भट्टराईको पक्षमा राजकिशोर यादवलगायत केही असन्तुष्ट नेता मात्रै बाँकी रहेका जसपा नेपालका एक नेताले बताए ।

उनका अनुसार असार २७–२८ गते वीरगन्जमा बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा सम्भवतः भट्टराई उपस्थित हुने छैनन् किनभने ‘सहमतिको आधारमा अलग हुने’ जानकारी अध्यक्ष यादवलाई गराई सकेकाले पनि सो बैठकमा उनी अनुपस्थित हुन सक्नेछन् । भट्टराई अनुपस्थित भएमा यादवले वीरगन्ज बैठकबाट आफू अनुकूलका निर्णय गरेर अघि बढ्न पाउने छन् । 





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार १०:२८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया