बागमती प्रदेश : ४९ प्रतिशत मात्रै बजेट खर्च, लक्ष्यअनुसारको खर्च गर्न सास्ती

चालू आर्थिक वर्ष सकिन अब जम्मा ११ दिन मात्रै बाँकी छ । आर्थिक वर्षको अन्त्यसम्म कम्तीमा पनि ६० प्रतिशत बजेट खर्च गर्नुपर्ने हुन्छ । तर, बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको कुल बजेटमध्ये ५० प्रतिशत पनि खर्च गर्न सकेको छैन । अब केही दिन मात्रै बाँकी रहँदा वार्षिक बजेटको ५१ दशमलव ७६ प्रतिशत बजेट खर्च गर्न बाँकी छ । 

१९ गते आइतबारसम्मको तथ्यांकअनुसार हालसम्म कुल बजेटको ४९ दशमलब २४ प्रतिशत मात्रै बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय बागमती प्रदेशका सूचना अधिकारी होमनाथ रिजालले जानकारी दिए । 

प्रदेश सरकारलाई आगामी ११ दिनमा ३१ अर्बभन्दा बढी बजेट खर्च गर्नुपर्ने चुनौती छ । प्रदेश सरकारले असार मसान्तसम्ममा ३३ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।
प्रदेश सरकारले चालू आर्थिक वर्षको असार १९ आइतबारसम्मको अवधिमा ४९ प्रतिशतमात्र बजेट खर्च गर्न सफल भएको हो । चालू आर्थिक वर्षमा करिब ७० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको प्रदेश सरकारले बजेट खर्चको लक्ष्य पूरा गर्न आगामी ११ दिनमा कम्तीमा २१ प्रतिशत बजेट खर्च गर्नुपर्नेछ । 

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको कुल बजेटमध्ये चालू खर्चतर्फ ६१ दशमलव १२ प्रतिशत, पुँजीगततर्फ ४० दशमलव १ प्रतिशत खर्च गरेको छ ।
प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि चालू खर्चतर्फ २६ अर्ब १६ करोड ६६ लाख रुपैयाँ, पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख रुपैयाँ र वित्तीयतर्फ २ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।
 
कुन मन्त्रालयको खर्च कति ?

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ७१ करोड ७३ लाख २४ हजार विनियोजित रकममा हालसम्ममा चालूतर्फ १८ करोड १२ लाख ७४ हजार बजेट खर्च भएको छ भने पुँजीगततर्फ ३२ करोड ७१ लख ४९ हजार मात्रै बजेट खर्च भएको हो । 

बागमती प्रदेशमा रहेका मन्त्रालयमध्ये आर्थिक मामिला तथा योजना मन्त्रालयले खर्च गरेको छ । उक्त मन्त्रालयको कूल बजेटको ७२ प्रतिशत खर्च गरेको छ । मन्त्रालयले ३५ करोड ६४ लाख १८ हजार रूपैयाँ बजेट रहेकोमा चालूतर्फ २५ करोड ५८ लाख ७३ हजार खर्च गर्न सफल भएको छ भने पुँजीगततर्फ ३४ लाख ९५ हजार खर्च गरेको छ । 



आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ८६ करोड ४६ लाख ४५ हजार रूपैयाँ बजेट पाएकोमा झण्डै आर्थिक वर्षको अन्त्यसम्मको अवधिमा चालूतर्फ १८ करोड ८९ लाख खर्च गरेको छ । त्यस्तै, पुजीगततर्फ १७ करोड ८६ लाख बजेट खर्च गरेको छ । ७० करोड २९ लाख ७७ हजार कूल बजेट रहेको उक्त मन्त्रालयले हालसम्म कूल बजेटको ४९ प्रतिशत अर्थात् ३४ करोड ७५ लाख खर्च गरेको हो ।

त्यस्तै, २३ अर्ब ७६ करोड ४९ लाख ३२ हजार कूल बजेट रहेको भौतिक मन्त्रालयले हालसम्ममा चालूतर्फ ७४ करोड ४४ लाख बजेट खर्च गरेको छ भने पुँजीगततर्फ ९ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ खर्च गरेको छ ।



त्यस्तै, ९ अर्ब ९७ करोड ५५ लाख ८४ हजार रुपैयाँ बजेट रहेको सामाजिक विकास मन्त्रालयले चालूतर्फ ३ अर्ब ३६ करोड ४ लाख रूपैयाँ खर्च गरेको छ भने पुँजीगततर्फ १ अर्ब १३ करोड ८५ लाख खर्च गरेको छ  ।
 
४ अर्ब ३१ करोड ३८ लाख १ हजार रुपैयाँ बजेट पाएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले हालसम्मको अवधिमा चालूतर्फ ८३ करोड ९२ लाख ७८ हजार खर्च गरेको छ भने पुँजीगततर्फ १ अर्ब ११ करोड ७९ लाख बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय बागमती प्रदेशका सूचना अधिकारी रिजालले जानकारी दिए ।

त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ३ अर्ब ७६ करोड ४९ लाख ३२ हजारमध्ये हालसम्मको अवधिमा चालूतर्फ १ अर्ब १ करोड २३ लाख तथा पुँजीगततर्फ ५१ करोड ९१ लख खर्च गरेको सूचना अधिकारी रिजालले बताए । 

  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार २१:४५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया