प्रदेश किशोर/किशोरी स्वास्थ्य प्रवर्द्धन ताराको उपाधि स्मृति र प्रकाशलाई

‘प्रदेश किशोर/किशोरी स्वास्थ्य प्रवर्द्धन तारा’ को उपाधि धनगढी उपमहानगरपालिका-५ कैलालीका स्मृति शाही र मेलौली नगरपालिका-२ बैतडीका प्रकाश बडूले जितेका छन् । 

शाही धनगढीस्थित नाष्ट माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन भने बडू बैतडी दुर्गास्थानस्थित केदारेश्वर मावि कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । 

सामाजिक विकास मन्त्रालय, प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र कञ्चनपुरको आयोजनामा धनगढीमा मंगलबार सम्पन्न विभिन्न विद्याका स्पर्धामा शाही र बडू उत्कृष्ट हुँदै ‘प्रदेश स्वास्थ्य प्रवर्द्धन तारा’ जितेका हुन् । 

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशभरीबाट १८ जनाको सहभागिता रहेको थियो । उपाधि जितेका दुवैलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका एक समारोहका बीच ट्रफी, सम्मानपत्र र नगद २५/२५ हजारसहित पुरस्कृत गरेका थिए । 

कार्यक्रममा राज्यमन्त्री रैका किशोरावस्थामा सकारात्मक विचार तथा राम्रो संगतमा लाग्नुपर्ने बताएका थिए । उनले किशोर/किशोरीको उज्ज्वल भविष्यका लागि सकारात्मक विचार तथा राम्रो संगतमा लाग्नुपर्ने आवश्यक रहेको उल्लेख गरे । 

कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश सचिव दीपक लामिछाने, जनस्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारलगायत मन्तव्य व्यक्त गरेका थिए । 



कार्यक्रममा किशोरावस्था समस्या, चुनौती समाधान विषयमा समूह छलफल र प्रस्तुति, स्वास्थ्य जीवनशैली, स्वास्थ्य व्यवहार, स्वास्थ्य विकासका आधार आदि विषयमा वहस, किशोर/किशोरी स्वास्थ्य प्रवर्द्धन तथा राजनीतिक र विकास विषयक प्यानल छलफल, ‘गरौं किशोर/किशोरीको स्वास्थ्यमा लगानी, पाउ स्वास्थ्य जिन्दगानी’ विषयक वक्तित्वकला, किशोर/किशोरी व्यक्तिगत प्रतिभा कार्यक्रम भएको थियो । 

छनोट कार्यक्रममा कानून अधिकृत दानबहादुर सुनार, जनस्वास्थ्यविज्ञ शंकर धामी र समाजशास्त्रविद् शेरबहादुर विष्ट निर्णायक रहेका थिए भने केन्द्रका प्रमुख हेमराज खड्का र दीपा रावत सहजकर्ता रहेका थिए । कार्यक्रम केन्द्रका प्रमुख खड्काको अध्यक्षतामा भएको थियो ।



  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार १६:५८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया