मौद्रिक नीतिबारे राष्ट्र बैंकलाई बैंकर्सहरुको सुझाब

आगामी मौद्रिक नीतिमा उत्पादनशील क्षेत्रमा बढी कर्जा लगानी गर्नुपर्ने नीति ल्याउन बैंकर्सहरुले राष्ट्र बैंकलाई सुझाब दिएका छन् ।

सोमबार आगामी मौद्रिक नीतिको सुझाब संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्र बैंकलाई बैंकर्सहरुले यस्तो सुझाब दिएका हुन् । 

बैंकर्सहरु सबैले मौद्रिक नीतिको सुझाबमा उत्पादन क्षेत्रमा कर्जा प्रभावलाई प्राथमिकता दिएर आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिए । कार्यक्रमा बोल्दै नेपाल बैकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपध्यायले उत्पादनशिल क्षेत्रमा लगानी बढाउने किसिमको मौद्रिक नीति आउनुपर्ने सुझाब दिए । 

कृषि क्षेत्रमा लगानी बढाएर उत्पादनलाई वृद्धि गर्न सके मात्रै अर्थतन्त्रमा सुधार आउने बताउँदै उपाध्यायले नेपालमा आउने रेमिट्यान्स बैंकिङ प्रणालीभन्दा टाढा रहेकाले बैंकिङ प्रणालीमा ल्याउनुपर्ने बताए । उत्पादन क्षेत्रमा जति मार्जिन दियो त्यति बढ्दै जाने उनले बताए । 

अध्यक्ष उपाध्यायले उत्पादनमुलक र अनुत्पादनमूलक क्षेत्र छुट्याएर जोखिम भारलाई कम गरेमा भने बैंकहरुलाई प्रोत्साहन हुने भन्दै उत्पादन क्षेत्रमा जोखिम भार फरक गरिनुपर्ने बताए । उनले बैंकहरुमा लागू भएको बेस रेट व्यावहारिक नभएको भन्दै मौद्रिक नीतिमार्फत सुधार गर्न सुझाब दिए । 

त्यस्तै, विकास बैंकर्स एसोसिएसनका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले उत्पादनमुखी उद्योग र कृषि उत्पादन तथा प्रशोधन उद्योगमा दिने कर्जाको जोखिम भार मौद्रिक नीतिमार्फत घटाउनुपर्ने बताए । त्यस्तो कर्जामा जोखिम भार घटाउँदा सजिलै उद्योगले कर्जा पाएर आन्तरिक उत्पादन बढ्ने उनको भनाइ छ । 



अध्यक्ष पोखरेलले अहिले बैंकहरुबाट उत्पादन क्षेत्रमा निर्देशित मात्रै कर्जा लगानी भएको भन्दै राष्ट्र बैंकले तोकिएको प्रतिशतभन्दा बढी उत्पादन क्षेत्रमा लगानी गर्ने बैंकलाई प्रोत्साहन गर्नुपर्ने बताए । मौद्रिक नीतिमार्फत विकास बैंकहरुले पनि सरकारी कारोबार गर्न पाउनुपर्ने व्यवस्था गर्न उनले सुझाब दिए । विकास बैंकलाई पनि सरकारी कारोबार गर्न दिए बैकिङ क्षेत्रको स्थिरतालाई सहयोग गर्ने अध्यक्ष पोखरेलको दाबी छ । 

त्यस्तै, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले बैंकहरुको कर्जा लगानी उत्पादन क्षेत्रमा बढी गर्नुपर्छ भन्ने राष्ट्र बैंकको नीतिमा उल्लेख हुनुपर्ने बताए । पछिल्लो समय बैंकहरुले उत्पादन क्षेत्रभन्दा बाहिर बढी लगानी गर्दा समस्या आएको भन्दै उनले विदेशबाट आउने रेमिट्यान्समा मौद्रिक नीतिमार्फत थप दुई प्रतिशत ब्याजको व्यवस्था गर्नुपर्ने बताए । नेपालमा विदेशी लगानी ल्याउनको लागि मौद्रिक नीतिमार्फत सहज बनाउनुपर्ने उनले सुझाब दिए । 



अध्यक्ष गोल्यानले बैंकहरुमा १० लाख भन्दा बढी जम्मा गर्न नपाउने भएको भन्दै मौद्रिक नीतिमार्फत २५ लाखसम्म बैंकको मुद्धति खातामा पैसा राख्न पाउने व्यवस्था गर्न माग गरे । 

  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार १८:०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया