प्रधानाध्यापक महराको पक्षमा जनकपुरधाममा प्रदर्शन

धनुषाको औरही गाउँपालिका वडा नम्बर–१ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहियाका प्रधानाध्यापक मदन महराले न्याय पाउनुपर्ने माग गर्दै मंगलबार जनकपुरधाममा प्रदर्शन गरिएको छ । 

प्रधानाध्यापक महरालाई कालोमोसो दली दुर्व्यवहार गरिएको घटनामा संलग्न दोषीहरुले सजाय पाउनुपर्ने माग गर्दै संयुक्त दलित संघर्ष समितिले प्रदर्शन गरेको हो । 

रेल्वे स्टेसनबाट सुरु भएको विरोध र्याली भानुचोक, कदमचोक, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय हुँदै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा दलित अगुवाहरुले पीडितलाई न्याय दिलाई घटनाका आरोपितहरुलाई कारबाही गर्नुपर्ने माग गरे । उनीहरुले घटनामा संलग्नलाई कारबाही नभएसम्म विरोध जारी राख्ने चेतावनीसमेत दिए । 

प्रधानाध्यापक महरा दलित समुदायकै भएकाले उनीमाथि अनाहकमै कालोमोसो दलिएको भन्दै उनीहरु आक्रोशित बनेका हुन् ।प्रदर्शनकारीहरु मुखमा कोलोमोसो लगाएरै पद्रर्शनमा सहभागी भएका थिए ।

गत असार ११ गते शनिबार आयोजित अभिभावक भेलामा गैरअभिभावकले प्रधानाध्यापक महरामाथि कालोमोसो दलेको थियो । सो गाउँपालिकाका निवर्तमान अध्यक्ष ब्रह्मदेव यादवनिकटका व्यक्ति रामनाथ यादव र सुजित यादवले प्रधानाध्यापक महरामाथि कालोमोसो दलेका थिए ।
 
विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर यादवले प्रधानाध्यापक महरामाथि हातपात गर्नुका साथै अभद्र व्यवहार गरेको आरोप लागेको छ । सोही क्रममा विद्यालयका कार्यालय सहयोगी जितनारायण यादवले प्रधानाध्यापकलाई बचाउन खोज्दा उनीमाथि पनि कुटपिट गरिएको थियो ।



प्रदेश सरकारबाट शैक्षिक सुदृढीकरण तथा सामान्य मरम्मत सम्भारका लागि प्राप्त ३० लाख र संघीय सरकार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चारकोठे भवन निर्माणका लागि प्राप्त ३६ लाख रुपैयाँलाई कुन हिसाबले सदुपयोग गर्ने र विद्यालयको शिक्षा तथा शैक्षिक सुधार र सरसल्लाह गर्नका लागि आयोजित अभिभावक भेलामा अर्कै विषयलाई मुद्दा बनाएर गैरअभिभावकहरुकुटपिटमा उत्रेको प्रधानाध्यापक महराले बताए ।

घटनाको विद्यालय, शिक्षक, अभिभावकले समेत भत्र्सना गर्दै दोषी पर कारबाहीको माग अघि सारेका छन् भने पीडित प्रधानाध्यापक महराले दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा जाहेरीसमेत दिएका छन् ।



  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार २१:५७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया