ठूला व्यापारीले फुटपाथ कब्जा गरेको ठाउँमा किन पुग्दैन महानगरको नजर ?

काठमाडौं महानगरपालिका फुटपाथमा व्यापार गर्न नदिने योजनामा छ । महानगरले फुटपाथमा व्यापार गरेको पाइएमा सामान नियन्त्रणमासमेत लिने गरेको छ । महानगरपालिकाले नगर प्रहरी खटाएर फुटपाथमा मकै पोल्ने, तरकारी, लुगाकपडा बच्नेहरूको ठेलागाडा उठाउने गरेको हो ।

केही दिनअघि काठमाडौंको बालुवाटारमा बेच्न राखिएको मकै र गाडा पनि नगर प्रहरीले लग्यो । नगर प्रहरीले फुटपाथ व्यापारीको गाडा उठाएको भिडियो सामाजिक सञ्जालमा भाइरल पनि भयो । 

चेतेन्द्र र सीता आचार्यले लामो समयदेखि यही गाडाकै भरमा जीवनगुजरा गर्दै आएका थिए । तर, १२ हजार रुपैयाँमा किनेको गाडा र मकै नगर प्रहरीले लियो । त्यसक्रममा प्रहरी र आचार्य दम्पतीबीच एकछिन गाडा र मकै खोसाखोससमेत भयो । 

प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको यो व्यवहारको अहिले पनि व्यापक आलोचना भइरहेको छ । मकै बिक्री गरेर दैनिकी चलाउँदै आएका सामान्य व्यापारीलाई दुःख दिँदै आएको नगर प्रहरीले असन, महाबौद्ध, भोटाहिटीका ठूला फुटपाथ व्यापारीसामु भने निरीह बन्दै आएको छ । निकै व्यस्त रहने यी स्थान ठूला फुटपाथ व्यापारीको कब्जामा छन् । 



होलसेल व्यापारीले असन, महाबौद्ध, भोटाहिटीका फुटपाथ खुलेआम कब्जा गर्दै दैनिक लाखौंको व्यापार गर्छन् । उसै पनि साँघुरा गल्ली त्यसैमाथि आधा जति होलसेल व्यापारीले कब्जा गर्दा यी क्षेत्रमा हिँडडुल गर्नसमेत निकै अप्ठ्यारो हुन्छ । ग्राहक आकर्षित गर्न व्यापारीले पसलको ढोका बाहिर सडक पेटीमै सामान थुपारेर राखेका छन्, जसले गर्दा पैदल यात्री तथा भरियालाई हिँडडुल गाह्रो छ । 

असन, महाबौद्ध, भोटाहिटी क्षेत्रका व्यापारी प्रायः चीन तथा भारतबाट सामान आयात गर्छन् । एक व्यापारीले एकपटकमा करिब एक करोडको सामान आयात गर्ने गरेका सीमापारी व्यापार संघका अध्यक्ष गोविन्द श्रेष्ठ बताउँछन् ।  



कसरी कब्जा गरेका छन् ठूला व्यापारीले फुटपाथ?

ठूला व्यापारीले फुटपाथमै सामान राख्नका लागि अनेकौं जुक्ति निकालेका छन् । कसैले पसलबाहिर फलामको कुर्सीमाथि सामान थुपारेर फुटपाथ कब्जा गरेका छन् त कसैले टेबुल आकारकै काठ राखेर सामान ओछ्याएका छन् । केही व्यापारीले भने घरको भित्तामा फलामे ह्याङ्गर ठोकेर पनि फुटपाथ कब्जा गरेका छन् । 

केही दिनअघि काठमाडौं महानगरले सडकमा भिख माग्नसमेत प्रतिबन्ध लगाएको थियो । सहर सुन्दर र फराकिलो बनाउने भन्दै महानगरले फुटपाथ व्यवसाय हटाउन खोजेको देखिन्छ । महानगरको यो निर्णयले पैदल यात्रीलाई केही हदसम्म राहत मिल्ने देखिन्छ । तर, ‘सानालाई ऐन र ठूलालाई चैन’ भनेझैँ लाखौंको कारोबार गर्ने व्यापारीलाई नजरअन्दाज गरेको भन्दै महानगरको आलोचनासमेत हुन थालेको छ ।

‘महाबौद्ध क्षेत्रमा सडक अतिक्रमण र कब्जा गरेर व्यापार गर्ने कुलिन/भिआइपी वर्गका व्यापारी पनि छन् । त्यहाँ अधिकांश होलसेल व्यापारी यही वर्गका छन् । उनीहरू दिनभरि फुटपाथ–सडकमा व्यापार सामान फिँजाएर व्यापार गर्छन् । साँझ परेपछि चिल्ला कारमा चढेर घर फर्किन्छन् । महानगरले उनीहरूको सामान किन उठाउँदैन?,’ फुटपाथमा पानीका बोतल बेच्दै आएका रमेश कार्की महानगरलाई प्रश्न गर्छन् । 

काठमाडौंको बौद्ध, रत्नपार्क, जमल, भोटाहिटी, बानेश्वर, कोटेश्वरलगायत अत्यधिक भिड हुने क्षेत्रमा बढी फुटपाथ व्यापारी छन् । साइकल र ठेलागाडा व्यापारी घरघर पुग्छन् । प्रायः नगर प्रहरीको निसानामा पनि तिनै पर्छन् । 

महानगर प्रहरी प्रमुख धनपति सापकोटाले भने आफूहरूले साना/ठूला सबै व्यापारीलाई फुटपाथमा सामान बिक्री नगर्नका लागि आग्रह गरिरहेको बताए । आग्रह नमान्ने ठूला व्यापारीको सामान पनि आफूहरूले नियन्त्रणमा लिने गरेको उनको दाबी छ । 

‘हामीले सबैतिर अनुगमन, नियन्त्रण गर्ने गरेका छौँ । असन, भोटाहिटी क्षेत्रमा पनि माइकिङ भएको छ । कसैलाई पनि छुट दिने भन्ने हुँदैन । फुटपाथ भनेको मानिस हिँड्नका लागि बनाइएको हो व्यापार व्यवसायका लागि होइन,’ सापकोटाले भने । 

  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार ८:४७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया