संघीयता कार्यान्वयनमा सरकार जिम्मेवार नभएको संसदीय समितिको निष्कर्ष

संसदीय समितिले संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार नभएको निष्कर्ष निकालेको छ । 

संघीय संसद राष्ट्रियसभाअन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीयतासम्बन्धी आफैंले तय गरेको रोडम्याप अनुसार समेत नहिँडेको भन्दै असन्तुष्टिसमेत जनाएको छ । 

२०७५ मंसिर २४ गते आफैंले बनाएको संघीयतासम्बन्धी २९ बुँदे रोडम्यापसमेत कार्यान्वयनमा सरकार र सरकारका मन्त्रीहरु जिम्मेवार नभएको पाइएको समितिका संयोजक खिमलाल देवकोटाले बताए । 

उनले प्रधानमन्त्रीको अध्यक्षतामा बसेको अन्तरप्रदेश परिषद बैठकले निर्णय गरेको सो संघीयता सम्बन्धि रोडम्याप समितिले पटकपटक निर्देशन दिँदा पनि किन कार्यान्वयनमा नल्याएको भन्दै सरकारलाई प्रश्न गरे । 

समितिले सरकारका मन्त्रीहरु नै संघीयताको कार्यान्वयन गर्न जिम्मेवार नभएको उल्लेख गर्दै संविधान र कानुनले किटान गरेको व्यवस्थाप्रति जिम्मेवार हुन पनि सचेत गराएको छ । 

संयोजक देवकोटाले भने, ‘मन्त्रीहरु यस सम्बन्धमा जवाफदेही हुनुपर्ने हो । सचिवहरुले पनि यसमा बेवास्ता गरेको देखियो । नेपाल सरकार कार्यविभाजन नियमावली छ । सो अनुसार काम भएको छ कि छैन ? हामीले राजनीतिक संघीयता, प्रशासनिक संघीयता र वित्तिय संघीयता हाम्रो कार्य क्षेत्र हो । यसमा काम भए/नभएको सरकारलाई प्रश्न गरेका छौं ।’



समितिले अन्तर सरकारी वित्त परिषदको बैठक समेत नबसेर सरकारले संघ, प्रदेश र स्थानीय तहको वित्तिय व्यवस्थापनका विषयमा आवश्यक व्यवस्था गर्न नसकेको, स्थानीय तहमा निजामती कर्मचारीको सेवा व्यवस्थापनको कामलाई अघि बढाउन नचाहेको, संघ, प्रदेश र स्थानीय तहमा संविधान र कानुन विपरित जथाभावी बजेट विनियोजन गरेको भन्दै तत्काल त्यसलाई सच्याउन पनि सरकारलाई भनेको छ । 

समितिका संयोजक देवकोटाले संविधान र कानुन अनुसार २०७५ साल फागुन मसान्त भित्र निजामती कर्मचारी सम्बन्धि ऐन फाइनल गर्ने निर्णय कार्यान्वयनका लागि दिएको निर्देशन पनि सरकारले हालसम्म कार्यान्वयन नगरेकोमा आपत्ति जनाए । 



उनले भने, ‘जथाभावी बजेटिङ गर्ने, जथाभावी कर्मचारी परिचालन गर्ने, सिंगो गाविसलाई वडा बनाउने तर त्यहाँ सचिवको व्यवस्था नगर्ने । हामीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई त्यसबारे तत्काल व्यवस्था गर्न निर्देशन दियौं तर आजसम्म पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।’

समितिका संयोजक देवकोटाले स्थानीय तहको वडाहरुमा सचिवको व्यवस्था अझै गर्न नसकेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयप्रति आक्रोश समेत व्यक्त गरे ।

  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १५:१९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया