भारत र कुवेतमा महिला बेचबिखनमा संलग्न तीनजना पक्राउ

मानव बेचविखन तथा ओसारपसारमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका–१० चापागाउँ बस्ने ४८ वर्षीय दौलत रोका, काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलाकी २७ वर्षीया रेवती सुनार र काठमाडौं टोखा नगरपालिका–२ चण्डेश्वरी बस्ने रोल्पा त्रिवेणी गाउँपालिका–७ का ५२ वर्षीय भरतमणि घर्तिमगर रहेका छन् । 

दौलतलाई गत जेठ २४ गते ललितपुर जावलाखेलबाट, रेवतीलाई गत जेठ २० गते काठमाडौं बबरमहलबाट र भरतमणिलाई गत जेठ १३ गते काठमाडौं टोखाबाट प्रहरीले पक्राउ गरेको हो ।  

उनीहरूमध्ये दौलतले विभिन्न प्रलोभन तथा डरत्रास देखाई पीडितलाई ललितपुर ढोलाहिटीमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । 

दौलतले कुवेतमा मासिक ४०–५० हजार रुपैयाँसम्म कमाइ हुने प्रलोभन देखाई भारतको नयाँदिल्ली हुँदै ०७८ चैत १६ गते कुवेतमा घरायसी कामका लगि बिक्री गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

कुवेतमा ती पीडितलाई घर मालिकले समेत बन्धक बनाई जबरजस्ती करणी गरेकोमा मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलको पहलमा उनलाई कुवेतबाट उद्धार गरिएको थियो । 



साथै रेवतीले भारतमा डान्स बारमा काममा लगाइदिने प्रलोभन देखाई पीडितलाई वीरगञ्जबाट भारतको रक्सौल सौनाबजार पुर्याई डर त्रास देखाई डान्स गर्न लगाएको प्रहरीले जनाएको छ । ती पीडितलाई सौनाबजारबाट भारतीय प्रहरीले उद्धार गरी भारतको बालिका गृह मोतिहारीमा राखेकोमा माइती नेपालको सहयोगमा नेपाल फिर्ता ल्याइएको थियो । 

यसैगरी भरतमणिले दुबईमा कम्पनीको प्याकिङ सम्बन्धी काममा लगाइदिने भनी मासिक ४०–५० हजार रुपैयाँसम्म कमाइ हुने प्रलोभनमा ०७९ वैशाख १६ गते काठमाडौं एयरपोर्टबाट दुबई भनी कुवेतको घर मालिकलाई ५ हजार कुवेत दिनारमा बिक्री गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 



जिल्ला अदालत काठमाडौंको ०७९ असार २१ गतेको आदेशले दौलतलाई, ०७९ असार १५ गतेको आदेशले रेवतीलाई र ०७९ असार ८ गतेको आदेशले भरतमणिलाई पुर्पक्षका लागि कारागार कार्यालय पठाइएको छ ।

  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १७:४३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया