शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रिय रुपमा गरिएको प्रतिबद्धताबमोजिम नेपालको स्थानीय विशिष्टताको संरक्षण र संवर्द्धन गर्नेगरी काम गर्न युनेस्को नेपाललाई आग्रह गरेका छन् ।
युनेस्को नेपालका निमित्त नेपाल आयोगको सचिवालयको ३४औँ वार्षिकसभाको आज अध्यक्षता गर्दै मन्त्री पौडेलले सन् २०३० सम्मका लागि तय गरिएको दिगो विकास लक्ष्यमा पुग्न ‘एडल्ट लर्निङ र एजुकेसनको रोडम्याप’ अनुसार नीति, सुशासन, लगानी, सहभागिता समावेशीकरण, समानता र गुणस्तरका क्षेत्र पहिचान गरी कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धताबमोजिम युनेस्को पनि काम गर्नुपर्ने बताएका हुन् ।
युनेस्को आयोगले स्वतःस्फूर्त रुपमा हुने अनुसन्धानमूलक र वैज्ञानिक कार्यलाई प्रोत्साहन गर्नेगरी अन्तर्राष्ट्रिय दातासँग सहकार्य पनि आग्रह गरे । मन्त्री पौडेलले सोच, लक्ष्य, गन्तव्य र स्पष्ट रणनीतिसहित व्यापक र व्यावहारिक हुनेगरी कार्यक्रम गर्न सघाउ पुग्नेगरी आयोगको विधान परिमार्जन गर्न पनि सुझाब दिए ।
आयोगका महासचिव एवं मन्त्रालयका सचिवलगायत उच्च अधिकारी र विज्ञ सहभागी बैठकमा आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीले प्रगति प्रतिवेदन पेस गरेका थिए ।
डा. अधिकारीले आगामी आर्थिक वर्षमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युनेस्को काठमाडौं, स्थानीय सरकार र सम्बन्धित विषयमा कार्य गरिरहेका राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समन्वय र आर्थिक, भौतिक र प्राविधिक सहयोगमा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण विषयक राष्ट्रिय सम्मेलन र बृहत् प्रदर्शनी कार्यक्रम आयोजना गरिने र राष्ट्रिय संस्कृति नीति परिमार्जनमा सक्रिय भूमिका निभाइने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।