अर्थमन्त्री शर्माको सम्बोधन : इमान्दारीता नगुमाएको जिकिर, प्रतिपक्षप्रति आक्रोश
फाइल तस्वीर

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बजेट निर्माणका क्रममा गलत काम भएको शंकाप्रति गर्न खोजिएको छानबिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

प्रतिनिधिसभालाई सम्बोधन गर्दै शर्माले राजीनामाको घोषणा गरेका हुन् । संसदमा सम्बोधनका क्रममा उनी आक्रोशित पनि देखिएका थिए ।

उनले प्रतिपक्ष दलका सांसद योगेश भट्टराईलाई प्रति प्रश्नसमेत गरेका थिए । सभामुख अग्नि सापकोटाले शर्मालाई बोल्ने समय दिएपछि आपत्ति जनाउँदै एमाले सांसद भट्टराईले शर्मालाई अर्थमन्त्रीको हैसियतमा संसदको रोस्टममा बोल्ने नैतिकता नभएको बताएका थिए । त्यसपछि शर्मा बोल्न थालेपछि एमाले सांसदहरू हल छोडेर बाहिरिएका थिए ।

संसदमा बोल्दै उनले भने, ‘मैले संसदलाई सम्बोधन गर्ने नैतिकता कसरी गुमाएँ, मैले राज्यबाट विशेष खालको अभियान चलाएर सबैको गरिबी हटाउने बजेट बनाएको छु के त्यो अपराध हो, के त्यो अनैतिकता हो ।’ 

शर्माले संसदीय छानबिन समितिको स्वागत गर्दै जतिवटा समिति बनाए पनि आफू तयार रहेको बताए । यस विषयमा एमालेले संसद बहिष्कार गर्नु पूर्वाग्रहको पराकाष्टा भएको शर्माको भनाइ छ । उनले बजेट निर्माणमा कुनै गल्ती नगरेको दाबी पनि गरे ।

‘मैले बजेटमा कुनै हेरफेर गरेको छैन्, मन्त्रीलाई सिसिटिभीको ज्ञान हुँदैन । बिजुली गाडीमा कर बढाएको कुरा जायज हो तर कसैको क्षमता हेरेर कर बढाएको होइन, कर हेरफेर गर्दैमा के अनैतिक भयो बजेटको कार्यान्वयनले देशलाई समृद्धिमा लान्छ । बजेटले आम नागरिक सबैलाई उत्साहित गरेको छ के सबैलाई सम्बोधन गर्ने बजेट ल्याउन पाइँदैन, राष्ट्रप्रतिको इमान्दारीता गुमाएको छैन म सबै छानबिनको लागि तयार छु,’ शर्माले भने 



अर्थमन्त्री प्रकरणमा दलहरू बीचको सहमतिमा ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन भइसकेको छ ।

प्रतिनिधिसभा बैठकबाट समिति गठन अनुमोदन भएको छ । समितिमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुषाल, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव रहने छ । समितिले १० दिनमा जिम्मेवारी पूरा गर्नुपर्ने छ । 



  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार २०:२४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया