बाजुराको बुढीगंगा नगरपालिकामा भोलि बिहीबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहीबार हुने निर्वाचन स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताएका छन् ।
मतदान स्थल र मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट सिनियर अधिकृतको कमाण्डमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरेको उनले बताए ।
१० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली खटाइएको अधिकारीले बताए । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारी मतदान केन्द्रमा पुगिसकेको पनि उनले बताए ।
निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेकाले बिहीबार बिहान ७ बजेदेखि मतदान हुने भएको छ । मंगलबार सबै मतदानस्थलको निरीक्षण गरेका अधिकारीले बुधबार पनि मुख्य निर्वाचन अधिकृतसहितको टोलीले निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
चुनावमा निर्वाचन अधिकृत १ जना, सहायक निर्वाचन अधिकृत १ जना, मतदान अधिकृत १९ जना सहायक मतदान अधिकृत १९ जना र अन्य ३८ जना कर्मचारीलाई निर्वाचनमा खटाइएको छ ।
गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो ।
१० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित ९५ जना कर्मचारी खटाइएका छन् । बुढीगंगा नगरपालिकामा १२ हजार ६ सय ५९ मतदाता रहेका छन् ।
गत वैशाख ३० गते निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादपछि पुनः मतदान गर्ने निर्वाचन आयोगले निणर्य गरेको थियो । बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो ।
वडा नं २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा हुन नसकेको भन्दै विवादित बनेको थियो ।
नगरपालिकाको मेयरमा एमालेबाट रामबहादुर बानियाँ, उपमेयरमा माया कुँवर र नेपाली कांग्रेसबाट मेयरमा रंग खाती र उपमेयरमा रीता शाही उम्मेदवार बनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।