त्रिविको परीक्षामा बारम्बार किन दोहोरिन्छन् प्रश्नपत्र ?

गत जेठमा भएको मानविकी संकायको स्नातकोत्तरतर्फको प्रथम र तृतीय सेमेस्टरको परीक्षामा हुबहु प्रश्नपत्र दोहरिए । यी दुई सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्न दोहरिएका हुन् । प्रश्नपत्र निर्माण प्रक्रियामा लापरवाही गरेको स्वभाविक आरोप केन्द्रीय परीक्षा सञ्चालन समितिमाथि छ । त्यति मात्रै नभएर नीजि कलेजसँगको मिलेमतोअनुसार गत वर्षकै प्रश्नपत्र दोहोर्याएको विद्यार्थी संगठनहरूको आरोप छ । 

नेविसंघसहित केही विद्यार्थी संगठनले प्रश्नपत्र दोहोरिएको विषयमा निरन्तर विरोध गरिरहेका छन् । नेविसंघले २६ जेठमा मानविकी संकायका सहायक डिन र परीक्षा प्रमुख तारा भुसालको कार्यकक्षमा तालाबन्दीसमेत गर्‍यो । 

‘त्रिभुवन विश्वविद्यालय, एमए तेस्रो सेमेस्टरको ‘पब्लिक इकोनोमिक’ र प्रथम सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयका प्रश्नपत्रहरू गत वर्षकै हुबहु दोहोर्याइएको थियो । त्यसबाट त्रिविको विश्वसनियतामाथि गम्भीर प्रश्न उठेको छ । 

स्नातकोत्तरतर्फ मानविकी संकाय तृतीय सेमेस्टरको परीक्षामा हुबहु दोहोरिएको गत र यो वर्षको प्रश्नपत्र 

प्रश्नपत्र दोहोरिएको विषयलाई छानबिन गर्न समितिसमेत गठन भएको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक घनश्याम भट्टराईको नेतृत्वमा छानबिन समिति गठन भएर प्रतिवेदनसमेत तयार भएको छ । तर, केन्द्रीय परीक्षा सञ्चालन समितिले उक्त प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरेको छ । 

प्रश्नपत्र छानबिन समितिका संयोजक घनश्याम भट्टराईले केही दिन पहिले नै केन्द्रीय परीक्षा सञ्चालन समितिलाई प्रतिवेदन बुझाइ सकेको बताए । ‘केन्द्रीय परीक्षा सञ्चालन समितिले प्रतिवेदन सार्वजनिक गर्ने/नगर्ने उसको अधिकारको कुरा हो । हामीले प्रतिवेदन तयार पारेर बुझाइसकेका छौँ,’ उनले भने, ‘प्रतिवेदनमा कहाँ–कहाँ कमजोरी भएको छ त्यो सबै उल्लेख छ प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने केन्द्रीय परीक्षा सञ्चालन समितिले निर्णय गर्छ ।’ 



वार्ता समिति प्रमुख पशुपति अधिकारीले छानबिन समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने बताए । परीक्षा सञ्चालन सम्बन्धी कार्यविधिका कारण उक्त प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने उनको भनाइ छ ।   

 स्नातकोत्तरतर्फ मानविकी संकाय प्रथम सेमेस्टरको परीक्षामा हुबहु दोहोरिएको गत र यो वर्षको प्रश्नपत्र 



‘केन्द्रीय परीक्षा सञ्चालन समितिले प्रतिवेदनको आधारमा कमजोरी गर्नेलाई कारबाही अगाडि बढाइसकेको छ भन्ने सुनेको छु । परीक्षा सञ्चालन सम्बन्धी कार्यविधिका कारण उक्त प्रतिवेदन सार्वजनिक गर्न मिल्दैन । बाँकी कुरा कन्ट्रोलरसँग बुझ्दा उचित हुन्थ्यो,’ अधिकारीले भने । 

विद्यार्थी संगठनका नेताहरूले परीक्षाजस्तो विषयमा संवेदनशीलता नअपनाएको भन्दै विभागीय प्रमुख, परीक्षा शाखालगायतको राजीनामा माग गरिरहेका छन् । आगामी दिनमा यस्ता क्रियाकलाप दोहोरिन नदिनका लागि भए पनि यस्तो कार्यक्रममा संलग्नले तत्काल राजीनामा दिनुको विकल्प नरहेको विद्यार्थी नेताहरू बताउँछन् ।

‘परीक्षाजस्तो संवेदनशील विषयमा असंवेदनशील हर्कत गरेको, निजी कलेजसँगको सेटिङमा प्रश्नपत्र दोहोर्याउने कुरामा जिम्मेवार दुवै विषयका प्रश्नपत्र निर्माता, विषय समिति सदस्य, विभागीय प्रमुख, डिन कार्यालयको परीक्षा शाखा प्रमुखलगायत यो प्रक्रियामा संलग्न सबैको राजीनामा मागेको छौं,’ नेविसंघ नेता श्यामराज ओझाले भने ।

  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १५:३५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया