एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् : देव गुरुङ
'नेपाल आइपीएसको सदस्य बन्न सक्दैन'
फाइल तस्वीर

सत्ता साझेदार नेकपा (माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने मन्त्रिपरिषदको निर्णय तत्काल अमेरिकालाई पत्राचार गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक गुरुङले नेपाल सरकार मन्त्रिपरिषदको सो निर्णय परराष्ट्र मन्त्रालयले अझै अमेरिकालाई पत्राचार नगरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे । 

प्रमुख सचेतक गुरुङले भने, ‘सरकारले निर्णय गरेको एसपीपी सम्झौता नगर्ने भन्ने निर्णय अहिलेसम्म परराष्ट्र मन्त्रालयबाट पत्राचार भएको छैन । अविलम्ब पत्राचार गरियोस् ।' 

प्रमुख सचेतक गुरुङले नेपाल आईपीएस (इन्डोप्यासेफिक स्ट्राटिजी) को सदस्य राष्ट्र बन्नै नसक्ने धारणा समेत राखे । 'आइपीएसको मेम्बर चाहिँ २०१९ देखि बनिसकेको कुरा सार्वजनिक मिडियाबाट आइसकेको छ । अस्ति पूर्वप्रधानमन्त्रीज्यूले पनि भनिसक्नु भएको छ । आइपीएसको सदस्य नेपाल बन्न सक्दैन । त्यो कुरा पनि अविलम्ब पत्राचार गरियोस्,' उनले भने । 

उनले एमसीसी सम्झौतासँगै संसदबाट पारित १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्छ कि गर्दैन ? भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्ने बताए । उनले सो व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरे मात्रै सो परियोजना नेपालमा लागू हुने पनि स्मरण गराए । 

'सदनबाट एमसीसी पास गर्ने बेलामा १२ बुँदे घोषणा पत्र जारी भएको थियो । त्यो घोषणापत्रबारे अहिलेसम्म अमेरिकाले स्वीकार गरेको अवस्था छैन । त्यो स्वीकार हुने वा नहुने सरकारले अविलम्ब पत्राचार गरोस् । त्यो घोषणापत्र स्वीकार नगरेको अवस्था एमसीसी परियोजना रोकिन्छ । स्वीकार्य भएको अवस्थामा मात्रै यो परियोजना अघि बढ्छ । यो विषयमा पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने ।





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १५:३०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया