गण्डकीको बजेट : मन्त्रीका बाबुआमाको नाममा १ करोड विनियोजन

सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको बाबुआमाको नाममा खोलेको ट्रस्टमा प्रदेश सरकारको १ करोड विनियोजन गरेका छन् । यसअघि वार्षिक विकास पुस्तिकामा समेट्न पठाएको कार्यक्रम अर्थ मन्त्रालयले काटेपछि सत्तारुढ सांसद र मन्त्रीहरुले नै विरोध गरेका थिए ।

पछि थपिएको २८ करोड बजेटमध्ये १ करोड रुपैयाँ श्रेष्ठका स्व. बाबु पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फरकफरक शीर्षकमा ५०/५० लाख विनियोजन गरिएको हो । पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्टमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले ५० लाख विनियोजन गरेको छ भने सोही ट्रष्टको भवन निर्माण गर्न भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत अर्को ५० लाख विनियोजन गरिएको छ ।

पुननारायण र धनकुमारी सामान्य व्यक्तिहरू थिए । स्याङ्जा भीरकोट नगरपालिका-१ मा उक्त भवन निर्माण गर्न लागिएको बजेट किताबमा उल्लेख छ । मन्त्री श्रेष्ठले सत्ताको दुरुपयोग गर्दै आफ्नै बाबुआमाको नाममा खुलेको ट्रस्टमा बजेट विनियोजन गरेका हुन् ।

यसअघि १ असारमा बजेट वक्तव्यपछि प्रदेशसभा बैठक २० गतेसम्म रोकियो । मन्त्रालयले पठाएका कार्यक्रमहरू अर्थमन्त्रालयले काटेको र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा समावेश नगरेको भन्दै सत्तारुढ दलले नै सदन रोकेको थियो । लामो छलफलपछि करिब २८ करोड रुपैयाँको कार्यक्रम राखेर अनुसूची थपिएको छ ।

सेतो किताबमा थपिएका अधिकांश बजेटहरू वितरणमुखी र कार्यकर्तालाई खुसी पार्ने खालका छन् । २८ करोडमध्ये पोखरा १६ नम्बर वडामा मात्रै ६ करोडभन्दा बढी छुट्याइएको छ । यो वडा भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काको वडासमेत हो ।



समग्रमा सबै मन्त्रालयबाट १६ नम्बर वडामा मात्रै २५ करोड हाराहारी बजेट विनियोजन भएको छ । यसअघि पनि धेरै बजेट एउटै वडामा परेको भन्दै प्रतिपक्षी र सत्तारुढ सांसदहरूले नै विरोध जनाएका थिए । विरोधपछि पनि सोही वडामा बजेट धेरै थुपारिएको छ । 



  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार १६:६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया