जापानी पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्नेको घरमा भेटियो विस्फोटक पदार्थ

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या भएको छ । जापानको दक्षिणी सहर नारामा भाषण दिने क्रममा उनलाई गोली लागेको थियो । 

सुरक्षा अधिकारीहरूले गोली प्रहार गर्ने संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएका छन् ।  प्रहरीले ४१ वर्षीय संदिग्ध आक्रमणकारीलाई पक्राउ गरेको हो । शंकास्पद आक्रमणकारीलाई नाराको निशी प्रहरी चौकीमा लगिएको छ । जापानी मिडियाका अनुसार आक्रमणकारी सामुद्रिक सेल्फ डिफेन्स फोर्सका सदस्य हुन् ।

संदिग्ध आक्रमणकारीको पहिचान तेत्सुया यामागामीको रूपमा गरिएको छ । उनी नारा शहरका बासिन्दा हुन् । जापानको सरकारी प्रसारक एन्च्केका अनुसार आक्रमणकारीले हातले बनाएको बन्दुकले गोली हानेका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले ती बन्दुकधारीको घरमा खोजतलास गरेको छ । उनको घरमा खोजीका क्रममा विस्फोटक पदार्थ फेला पारेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

शुक्रबार बिहान जापानको नारामा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा आबेमाथि गोली प्रहार भएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार ती व्यक्तिले ठूलो बन्दुक बोकेर आबेलाई पछाडिबाट दुई पटक गोली हानेका थिए । 

गोली लागि गम्भीर घाइते भएका उनलाई उपचारको लागि नारा मेडिकल युनिभर्सिटीमामा लगिएको थियो । स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको निधन भएको घोषणा अस्पतालले गरेको हो । 



जापानी प्रधानमन्त्री फुमियो किशिदाले शिन्जो आबेको हत्याको निन्दा गर्दै आक्रमणलाई जघन्य कार्य भनेका छन् । उनले जापानमा सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री आबेले उत्कृष्ट नेतृत्वमा देश चलाउने काम गरेको बताए । उनको हत्यापछि आफूले केही सोच्न र बोल्न नसकेको पनि बताए ।

'मलाई शिन्जो आबेको विरासतप्रति ठूलो सम्मान छ र म उहाँप्रति मेरो गहिरो समवेदना प्रकट गर्दछु,' किशिदाले भने । उनले आबे आफ्नो विशेष साथी भएको र आफूसँग धेरै समय बिताएको बताए । उनले आबेबाट अमूल्य सल्लाह र सहयोग पाएको पनि उल्लेख गरेका छन् ।



किशिदाले स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गराउनु पर्ने बताए । 'हिंसामा कहिल्यै नझुक्ने वाचा लिएर भोलि पनि चुनावी अभियानलाई निरन्तरता दिनेछौं' उनले भने ।

  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार १९:२७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया