काठमाडौं महानगरको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम र विनियोजन विधेयक सर्वसम्मत पारित भएको छ । बजेट पारित भएसँग काठमाडौं महानगरको नगरसभाको ११ औँ अधिवेशन आजबाट सकिएको छ । 

५ असारबाट सुरु भएको अधिवेशनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले आर्थिक वर्ष २०७९/०८० का लागि वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए । यो प्रस्ताव ८ असारमा बसेको सभाको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको थियो । 

१० असारमा सम्पन्न सभाको तेस्रो बैठकमा उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०७९/०८० का लागि २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको अनुमानित बजेट पेश गरेकी थिइन् । त्यसै बैठकमा सभाका अध्यक्ष एवं महानगरका प्रमुख शाहले आर्थिक विधेयक र उपप्रमुख डंगोलले विनियोजन विधेयक पेश गरेका थिए । 

बजेट तथा कार्यक्रममाथि असार १७, २२ र आज (२४) गते बसेको बैठकमा छलफल भएको थियो । छलफलका क्रममा उठेका सुझावलाई समेटेर आजको बैठकले आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम र विनियोजन विधेयक सर्वसम्मत पारित गरेको हो । सभा पेश भएको आर्थिक विधेयक १७ असारमा बसेको चौथो बैठकबाट पारित भएको थियो । 

यसरी पारित भएको नीति, बजेट तथा कार्यक्रमले आगामी बर्षमा महानगरका गतिविधिहरु थप संस्थागत हुँदै जाने बैठकका अध्यक्ष एवं महानगरका प्रमुख शाहले विश्वास व्यक्त गरे । ‘सभामा पेश भएका सबै प्रस्तावमाथि सौहाद्र छलफल भयो । सर्वसम्मत पारित भयो । बजेट, नीति तथा कार्यक्रमसहित विभिन्न नीतिगत र कानुनी व्यवस्था सम्बन्धी निर्णय भयो’ प्रमुख शाहले भने । 

अधिवेशनका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख एवं बैठकका उपाध्यक्ष डंगोलले  बैठकको सहभागिता र छलफल सकारात्मक र ऊर्जा दिने खालको रहेको बताइन् । ‘मागका रुपमा आएका विषय लिखित रुपमा आएका छन् । यसले संस्थागत आचरणलाई टेवा पुर्‍याउँछ’ उनले भनिन् ।





  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार २०:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया