हेटौँडा अस्पताल : किन समयमै वितरण भएन औषधि ?

बागमती प्रदेशको शानका रुपमा हेरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नामले परिचित हेटौँडा अस्पताल पछिल्लो समय पटक–पटक विवादमा तानिँदै आइरहेको छ । 

केही समयअघि मात्रै अस्पतालको व्यवस्थापन फितलो भएको भन्दै सेवाग्राहीले धर्ना नै दिएर सुधार ल्याउन प्रयास गरेका थिए । लामो समयको प्रयासपछि अस्पताल प्रशासन र आक्रोशित सेवाग्राही सहमति भएर विवाद साम्य बनेको थियो । तर, म्याद गुज्रिएको औषधिको व्यवस्थापन गर्न लाग्दा रंगेहात समातिएपछि हेटौंडा अस्पताल अहिले पुनः विवादमा मुछिएको छ । 

बाँड्नुपर्ने औषधि थन्क्याएर राख्दा बिरामीले आवश्यक औषधि नपाएको, तर अहिले म्याद गुज्रिएपछि औषधि फाल्नुपर्ने अवस्था आएपछि अस्पतालको चर्को आलोचना भएको छ । नागरिकलाई निःशुल्क वितरणका लागि नेपाल सरकार तथा भारत सरकारबाट उपलब्ध विभिन्न रोगका औषधि नष्ट गर्न लागिएको पाइएको हो । अस्पताल प्रशासनले औषधि बरु थन्क्याएर राख्ने, तर बिरामीलाई नदिने गरेको खुलासा भएको छ ।

लाखौँ मूल्यका औषधि डिस्पोजका लागि फोहोर व्यवस्थापन कक्षमा राखिएकोप्रति उपभोक्ता हित संरक्षण मञ्च नेपालले औषधि रोक्का राखी छानबिन गरी पाऊँ भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई शुक्रबार पत्र बुझाएको छ । आफ्नो मागअनुसार छानबिन हुने विश्वास लिएको उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष बासु खतिवडाले बताए । 

उपभोक्ताले निःशुल्क रुपमा पाउनुपर्ने औषधि नपाउनुमा अस्पताल प्रशासनको लापरबाही हो वा अन्य कुनै कारण हो भनेर छानबिनका लागि दबाब बढेको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुझाएको निवेदनमा यसबारे सत्य–तथ्य छानबिन गरी सो औषधिको स्रोतसमेत पत्ता लगाई दोषीउपर कानुनबमोजिमको कारबाहीको माग गरिएको छ । 

यता,  अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटा भने अहिले औषधिको विषयलाई लिएर अफवाह फैलाउनु स्वास्थ्य क्षेत्रलाई कमजोर बनाउने क्रियाकलाप भएको बताउँछन् । हरेक वर्ष यसरी प्रयोग गर्न बाँकी रहेको औषधि डिस्पोज गर्ने गरेको बताउँदै मेसु सापकोटाले भने, ‘हामीले विभिन्न कम्पनीबाट औषधि ल्याउँछौँ । सबै औषधिको अग्रिम पेमेन्ट भएको हुँदैन । डेट एक्पाएर भएका औषधि फिर्ता लिन कम्पनीलाई फिर्ता लिन बोलाउँदा पनि नआएर त्यतै फालिदिनु भन्ने गर्छन् । सोहीअनुसार हामीले फोहोर व्यवस्थापन कक्षमा राखेका हौँ ।’ 



०७० सालदेखिको औषधिहरु स्टकमा रहेको मेसु सापकोटाले बताए । ‘एक वर्षअगाडि मगाएको औषधि होइन त्यो । २–४ वर्षअघिदेखिको औषधि स्टकमा छन् । त्यसलाई हामीले अस्पतालको फार्मेसीमा राखेर बेचेका भए पो हामीले गल्ती गर्यौं भन्ने प्रमाणित हुन्थ्यो त । आवश्यकताभन्दा धेरै भण्डारण भएका कारण नसकिएको हो ।’

अहिले जति पनि डेट एक्सपाएर भएका औषधि छन्  त्यसको अस्पतालले भुक्तानी नगरेको उनको दाबी छ । ‘प्रत्येक वर्ष ७ देखि १०–१२ लाखको औषधि डेट एक्सपाएर हुन्छ । त्यसलाई हामीले यसरी नै डिस्पोज गर्ने गरेका हौँ,’ मेसु डाक्टर सापकोटाले भने । 



स्थानीय निकाय, सेवकग्राही, मिडिया तथा अधिकारकर्मीले पछिल्लो समय औषधि वितरण नगरेर खेर फाल्यो भन्ने आरोप गलत र भ्रामक भएको बताउँदै उनले भने, ‘हामीले मात्रै होइन, प्रत्येक अस्पतालले ८–१० लाखबराबरको औषधि खेर गएकै हुन्छ । त्यसको घाटा अस्पतालले व्यहोर्न पर्दैन । औषधि कम्पनीले नै व्यहोर्छ ।’ 

  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार १९:०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया