बाग्मती प्रदेश सरकारको सहयोगमा काठमाडौंमा नेपालकै पहिलो चिकित्सा संग्रहालय स्थापना हुने

बाग्मती प्रदेश सरकारको सहयोगमा काठमाडौंमा नेपालकै पहिलो चिकित्सा संग्रहालय स्थापना हुने भएको छ । संग्रहालय स्थापनाका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५० लाख बजेट विनियोजन गरेको छ ।

नेपाल चिकित्सक संघसँगको सहकार्यमा संग्रहालय स्थापना गर्न लागिएको हो । संघको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा संग्रहालय स्थापना गर्ने निर्णय भएको बाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

संग्रहालयमा नेपालको चिकित्सा इतिहास झल्कने सामग्रीको संग्रह गरिनेछ । संग्रहालयमा पुराना औजार, चिकित्सा उपकरणलगायत सामग्री राख्ने तयारी छ । 

नेपालमा प्रयोग भएको पहिलो अल्ट्रासाउन्ड, इसिजी, माइक्रोस्कोपलगायत सामग्री संग्रहालयमा राखिने संघका अध्यक्ष डा. लोचन कार्कीले बताए । स्वास्थ्यसम्बन्धी यस्ता ऐतिहासिक सामग्रीको खोजी भइरहेको छ । केही सामग्री पाइएको छ भने केही सामग्रीको खोजी अहिले पनि जारी रहेको संघले जनाएको छ ।

नेपालमा पहिले लेखिएका प्रेस्क्रिप्सन, तस्बिर, संघका निर्णय पनि संग्रहालयमा राखिने जनाइएको छ । संग्रहाहालयले स्वास्थ्य पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने आशा गरिएको छ । 

प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले खेलकुद, स्वास्थ्यलगायत पर्यटन प्रवर्द्धनका काम गरिरहेको बताइएको छ ।





  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार १९:४४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया