जसपामा लफडा : बाबुरामलाई अराजकको 'ट्याग' लगाउँदै उपेन्द्र पक्षले जारी गर्‍यो सर्कुलर
फाइल तस्वीर

फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अलगै बैठक डाकेपछि अध्यक्ष उपेन्द्र यादव रुष्ट भएका छन् । संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष यादवले एउटै समयमा बेग्लाबेग्लै बैठक डाकेका हुन् ।

जसपाबाट बाहिरिन लागेको बाबुराम पक्षले अध्यक्ष यादवलाई काउन्टर दिँदै २८ र २९ असारमा काठमाडौंमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो । यसअघि नै अध्यक्ष उपेन्द्रले २९ र ३० असारमा  वीरगञ्जमा बस्ने गरी कार्यकारिणी समितिको बैठक बोलाएका थिए ।

बाबुराम पक्षले काठमाडौंमा बोलाएको बैठकप्रति यादव पक्षले असन्तुष्टि जनाएको छ । यादव पक्षले सो बैठक आधिकारिक नभएको भन्दै सर्कुलर नै जारी गरेको छ । जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै बाबुराम पक्षको बैठकमा नजान भनेका हुन् ।

उनले बाबुराम पक्षलाई अराजक र गैरजिम्मेवार व्यक्तिको संज्ञा दिँदै विभिन्न माध्यमबाट भ्रम फैलाइरहेको आरोप लगाएका छन् । उनले सो दिन काठमाडौंमा पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराएका छन् ।

‘केही अराजक एवं गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनधिकृत रूपमा सोही दिन जसपा, नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनी सामाजिक सञ्जाललगायत केही संचार माध्यमबाट भ्रम फैलाइरहेको बुझिन आएको हुँदा काठमाडौंमा सोही दिन पार्टीको यस प्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।





  • प्रकाशित मिति : असार २६, २०७९ आइतबार १४:१८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया