यम बुद्धको ‘रअ बार्ज’बाट बालेन्द्र बनेका थिए ‘बालेन’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले र्‍यापर यम बुद्धको सालिक बनाउने योजना बनाएका छन् । मेयर साहलाई बालेन्द्रभन्दा ‘बालेन’ नामले धेरैले चिन्छन् ।

खासमा बालेन्द्र साह ‘बालेन’ बन्नुको पछाडि यम बुद्धको नै ठूलो हात छ । यम बुद्धले ‘रअ बार्ज’ नामक र्‍याप  ब्याटलको प्लेटफर्म सिर्जना नगरको भए बालेन्द्र ‘बालेन’ बन्ने थिएनन् ।

यम बुद्धको आइडियाबाट सिर्जना भएको ‘रअ बार्ज’ले नै नेपहपका चर्चित र्‍यापर जन्माएको सत्यलाई नकार्न सकिँदैन । 

बालेन, लाहुरे, युनिक पोएट जस्ता र्‍यापर उत्पादन गरेको ‘रअ बार्ज’ नामक र्‍याप ब्याटल यम बुद्धकै आइडिया थियो । एक समय नयाँ र्‍यापर जन्माउने थलो नै बनेको थियो ‘रअ बार्ज’ ब्याटल ।

उनको योगदानलाई लाहुरेले आफ्नो गीतमा समेटेका छन्, ‘जीपीले खन्यो नेपहपको बाटो, नेप्साइडजले खन्यायो अलकत्रा तातो, वाइबी (यमबुद्ध) ले चलायो त्यसमाथि गाडी...।’

युनिक पोएटले एक अन्तर्वार्तामा भनेका छन्, ‘मलाई रअ बार्जमा मान्छेले चिन्यो । मैले पनि आफ्नो ठाउँमा मिहिनेत गरेँ होला तर यम दाइ नभएको भए म के, लाउरे के, बालेन के कोही हुनेवाला थिएन । रअ बार्जले नै हामी यो ठाउँमा आएको हो ।’



मोरङको सलकपुरमा र्‍यापर अनिल अधिकारी उर्फ यम बुद्धको जन्म भएको थियो । घरको आर्थिक अवस्था बलियो थिएन ।

मोरङ, धनकुटा, विराटनगर तथा काठमाडौंका विभिन्न विद्यालयमा यम बुद्धले अध्ययन गरेका थिए । सबै ठाउँका सरकारी स्कुलमा पढे । काठमाडौं आएर बोर्डिङमा भर्ना हुँदा अङ्ग्रेजी फिटिक्कै जान्दैन थिए । 



यम बुद्धको विरासत’ शीर्षकमा माघ ७, २०७३ सजना बरालले कान्तिपुरमा उल्लेख गरेकी छन्, ‘भन्थे, गाउँमा अङ्ग्रेजी पनि नेपालीमै पढाइन्थ्यो । यहाँ नेपाली म्यामले समेत अङ्ग्रेजी बोल्दिने । म त सबैमा फेल हुन्थे ।’

अङ्ग्रेजी नजानेकोमा साथी-भाइ र शिक्षकले साह्रै होच्याएपछि त्यो बेलाका अनिल अधिकारीले अङ्ग्रेजी सिकिछाड्ने अठोट गरे । टिभी हेरेकै भरमा हिन्दी भाषा जानेझैँ अङ्ग्रेजी सिक्न दिनरात बिबिसी, सीएनएन, स्टार मुभिज, एएक्सएनजस्ता अङ्ग्रेजी च्यानल हेरे ।

अङ्ग्रेजी भाषाका पत्रिका र किताब पढे । ‘पछि त अङ्ग्रेजीमै कविता लेख्ने भइयो,’ उनी भन्थे, ‘अङ्ग्रेजीमा र्‍याप गाएर ब्याटल पनि जितेँ ।’ 

यम बुद्धले आफ्ना गीतमा सामाजिक कूरीति, विसङ्गति र अन्यायविरुद्ध बोलेका छन् । चेलीबेटी बेचबिखन, लागुपदार्थ दुर्व्यसन, बालश्रम जस्ता विषयलाई उनले मुद्दा बनाए । हिप-हप गीतलाई समाजसँग जोड्ने उनी नै पहिलो नेपाली र्‍यापर हुन् । त्यसअघिका र्‍याप गीतमा माया–प्रेम, पैसाजस्ता विषय समेटिन्थे ।

सानो छँदा धेरै ठाउँ डुलेकाले आफू सामाजिक यथार्थसँग नजिक भएको बताउँथे यम बुद्ध । ‘देखे–भोगेकै कुरा गीतमा राख्छु,’ उनी भन्थे, ‘दुर्व्यसनीमा फसेको मान्छेलाई हेला गर्नुभन्दा ऊ किन र कसरी त्यतापट्टि गयो भन्ने बुझ्नुपर्छ । युवाहरू नै फ्रस्ट्रेटेड छन् भने देशमा कसरी विकास हुन्छ ? कलेजहरूमा राजनीतिक गतिविधि चल्न दिनु हुँदैन ।’ 

स्कुल पढ्ने बेलादेखि नै ‘यो देशमा केही हुन्न’ भन्ने लाग्थ्यो रे उनलाई । कलेज सकेपछि अभिभावकले विदेश पठाउन चाहे । अस्ट्रेलिया जान ठिक्क परेका बेला बाइक दुर्घटना भएर खुट्टा भाँचिएछ । एक वर्ष ‘बेड रेस्ट’ गर्दा उनले अनलाइन र्‍याप ब्याटलबारे चाल पाए ।

त्यसमै ‘बुद्ध’ नाममा ब्याटल गर्न थाले । जिते पनि । अन्डरग्राउन्ड लेभलमा त्यही बेला चिनिए । नाम धार्मिक लागेपछि बुद्धको अगाडि यम थपिदिए । यम बुद्धले यमराज र बुद्धले झैँ आफूभित्रको आवेग र शान्तिलाई दर्साउने उनी बताउँथे ।

म्युजिक सुरु गरेको एक वर्षभित्रमै यमबुद्ध 'यूथ आइकन' बने । सन् २०११ को फेब्रुअरीबाट उनले औपचारिक रूपमा र्‍याप गाउन थालेका थिए । उनका ‘साथी...’, ‘आमा...’ जस्ता गीत तुरुन्तै पपुलर भए । र्‍यापर स्वयं पनि फेसबुक, ट्विटर र युट्युबमा भाइरल बने ।’

जब ‘साथी’ गीतले हलचल ल्यायो

ड्रग्सका कारण बितेको साथीलाई सम्झेर गाएको त्यो गीतले नेपाली हिपहपमा हलचल ल्यायो । हरेक शब्द मुटुमै बिझ्ने । कतिपय यो गीतपछि नेपाली र्‍यापको अर्को अध्याय सुरु भएको मान्छन् । 
‘साथी...’ गीतमा यम बुद्ध गाउँछन् :

‘जित्नुभन्दा ठूलो कुरा हिम्मत नहार्नु हो, त्यसैले लड्दै छु, संघर्ष गर्दैछु’

जिन्दगीबाट हार खाएका र दिक्क भएका धेरै युवामा यसले ऊर्जा दिएको थियो । तर, यम बुद्ध स्वयंले चाहिँ जित्दाजित्दै  हिम्मत हारे । 

मोटिभेसनल स्पिकर

यम बुद्ध कामलाई सम्मान गर्थे । युवालाई आफ्नो खुट्टामा उभिनुपर्छ, गरिखानुपर्छ, मिहिनेत गर्नुपर्छ भन्दै कलेज–कलेज चहारेर उत्प्रेरणा जगाउने भाषण गरेका थिए ।

उनले एक मोटिभेसनल क्लासमा भनेका छन्, ‘हामीलाई जुन दिनदेखि घुम्न जाने इच्छाहरू आउन थाल्छ, त्यही दिनदेखि काम गर्न थाल्नुपर्छ,’ उनको भनाइ थियो, ‘बाबा–आमाको कमाइ खाउन्जेल म पनि मात्तिएको थिएँ । खुट्टा भाँच्चिएपछि मिहिनेत र जीवनलाई बुझेँ । मर्नदेखि डर लाग्न थाल्यो ।’ 

यम बुद्धले सामाजिक विकृति विसङ्गतिका विरुद्धमा जनचेतना जगाउने र्‍याप सिर्जना गरेको भेटिन्छ । ‘यो प्रसंग हो...’ मा छोरीमाथिको विभेद र चेलीबेटी बेचबिखनको दर्दनाक पाटो उघारेका छन् ।

‘फुटपाथमा...’सडक बालबालिकाको दुर्दशा । विदेशबाट फर्कन नपाएको भाइको रोदन हो, ‘दिदी...’, राष्ट्र प्रेमले भरिएको छ, ‘म फुट्छु तर झुक्दिनँ...’।

यी भिडियोमा पनि ‘आफ्नोपना’ छ, बहुसङ्ख्य र्‍याप गीतझैँ युवतीको हुल राखिएको छैन, र्‍यापर चिल्लो गाडीमा ‘इन्ट्री’ मार्दैन । उनी भन्ने गर्थे, ‘मजस्तो छु, मेरा गीत र भिडियो पनि उस्तै हुन्छ । मलाई केही ढाँट्नु छैन ।’

यम बुद्ध र्‍यापर मात्र थिएनन्, प्रेरणाको स्रोत थिए । सपना र संघर्षको खानी थिए । मुख्य सपना थियो, नेपाली र्‍याप लिएर वर्ल्ड टुर गर्ने । नेपाली र्‍यापका प्रणेता मानिने गिरीश खतिवडासँग यो सपना बाँडिसकेका थिए ।

२०७३ माघ १ गते उनले आफ्नो कथा आफैँ सक्काए । लन्डनस्थित आफू बसेको घरको बाथरुमको झ्यालको डण्डीमा पेटीले बाँधेर झुन्डिएको अवस्थामा फेला परे । दुई वर्षदेखि उनी उतै बस्थे ।

उनको मृत्युका कारणबारे अनेक अड्कलबाजी भए, हल्ला चले तर खास कारण त उनले उनीसँगै लिएर गएका थिए । ‘सुसाइड नोट’ वा अरू केही भेटिएन । उनले प्राण त्यागे, संसारभर छरिएका उनका प्रशंसकको आँखा रसायो, छटपटी चल्यो ।  

  • प्रकाशित मिति : असार २६, २०७९ आइतबार १५:४२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया