गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेटका छन् । आइतबार साँझ नेम्वाङ निवास बालुवाटारमा भएको भेटमा उनीहरूबीच नागरिकता विधेयकबारे छलफल भएको हो ।
२१ असारमा बसेको मन्त्रिपरिषद् बैठकले नागरिकतासम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेसँगै संसदबाट उक्त विधेयक फिर्ता भएको छ । यसमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले असन्तुष्ट भएको छ ।
०७५ मा तत्कालीन केपी शर्मा ओलीको सरकारले यो विधेयक संसदमा दर्ता गरेको थियो । विधेयक पास गर्नुपर्ने बेलामा फिर्ता लिने निर्णय गलत भएको एमालेले आपत्ति जनाएपछि मन्त्रीद्वय खाण र शर्मा नेम्वाङलाई भेट्न पुगेका हुन् ।
उनहरूले नेता नेम्वाङलाई नागरिकता विधेयक पास गर्न सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा नेम्वाङले संसदमा विधेयक पेस भएपछि केके विषय समेटिएका छन् हेर्ने बताएका थिए । 'हामी नागरिकता विधेयकमा सकारात्मक नै छौ । विधेयकमा के के विषय समेटिएका छन्, त्यो हेर्छौं भने’ उनले भनेका थिए ।
गृहमन्त्री खाणले छलफल सकारात्मक भएको जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।