नेकपा एमालेका नेता घनश्याम भुसालले माधवकुमार नेपालले १० बुँदे सहमति लत्याएर ठूलो गल्ति गरेको भन्दै भविष्यमा प्रायश्चित गर्नुपर्ने बताएका छन् ।
‘माधव नेपालको दोहोरो नीति’ का कारण नेकपा एमाले विभाजन भएको उल्लेख गर्दै भुसालले २० प्रतिशतमा पार्टी विभाजन गरेका कारण उनी इतिहासको कठघरामा उभिनुपर्ने पनि उनको भनाइ छ ।
‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्,’ भुसालले फेसबुकमा लेखेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्ने विरोध गर्ने तर आफूले २० प्रतिशतमा पार्टी विभाजन गर्ने घटनाले उनको दोहोरो चरित्र देखिएको भुसालको थप टिप्पणी छ ।
‘कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए,’ भुसालले भनेका छन्, ‘त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्ने छैन, ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित गर्नुपर्नेछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।