सुदूरपश्चिम सरकारलाई बजेट पारित गराउन सकस

सुदूरपश्चिम प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट पारित गराउन सकस परेको छ । बजेट प्रस्तुत गरेको २५ दिनसम्म पनि प्रदेशसभा बैठक बस्न सकिरहेको छैन । बजेटप्रति प्रतिपक्षी दल मात्र नभई सत्तारूढ दलकै असन्तुष्टि चर्को छ । सत्तारूढ कांग्रेसले शनिबार संसदीय दलको बैठकबाटै यथास्थितिमा बजेट पारित नगर्ने निर्णय गरिसकेको छ । 

‘अराजक र असंवैधानिक तरिकाले ल्याइएको बजेटलाई यथास्थितिमा पारित गर्नु अपराध हो,’ कांग्रेस सांसद भरतबहादुर खड्काले भने, ‘मन्त्रीहरू योजना त के प्रदेश नै बेचेर खाने जस्ता देखिए । बिचौलियाको साँठगाँठमा योजना बाँडिएको छ ।’

कांग्रेसका तर्फबाट सरकारमा प्रतिनिधित्व गरिरहेको सामाजिक विकास मन्त्री गोविन्द बोहराले आफ्नो मन्त्रालयबाट प्रस्तावित योजना कटौती गरेर मन्दिर र अन्य योजना आफ्नो मन्त्रालयअन्तर्गत राखिएको भन्दै गुनासो गर्न पार्टी सभापति शेरबहादुर देउवासमक्ष पुगिसकेका छन् । 

सरकारको नेतृत्वसमेत गरिरहेको सत्तारूढ दल माओवादी केन्द्रका सचेतक अक्कल रावल पनि यथास्थितिमा बजेट पारित नहुने बताउँछन् । ‘सरकार ढले ढल्छ तर यही अवस्थामा बजेट पारित हुन्न,’ उनले भने । एकीकृत समाजवादी भित्र पनि बजेट विनियोजनलाई लिएर चरम असन्तुष्टि देखिएको छ । प्रमुख प्रतिपक्षी दल एमालेका नेता लीलाधर भट्टले प्रदेशसभामा बजेटमाथि छलफल नै नचलाइएको बताए । 

सरकारका मन्त्रीहरू एवं सत्तारुढ पार्टी नेतृत्व भने जसरी पनि बजेट पास गराउने कसरतमा छन् । ह्विप लगाउने देखि फकाउने सम्मका सबै प्रयास भइरहेको र यदि त्यसले पनि नहुने सम्भावना देखेपछि आर्थिक प्रलोभनमा पारेर पनि बजेट पास गराउने दाउमा सरकारका प्रतिनिधि रहेको समाचार स्रोतको दाबी रहेको छ ।  





  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार १३:९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया