‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ ले नेपालको विकासमा सहयोग पुग्नेछ : लिउ

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ राष्ट्रपति एवं पार्टीका महासचिव शी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताएका छन् ।  

दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उनले यस कोषले नेपालसहितका मुलुकलाई विकासको क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने बताएका हुन् । 

‘हाम्रो पार्टीका महासचिव सि जिनपिङले चिनियाँ सरकार दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । त्यसैले यो सानो परियोजना पनि यस कोषको समर्थन पाउँछ भन्ने आशा छ । यो पनि दक्षिण कोषअन्तर्गत चिनियाँ सामाजिक संगठनले विश्वमा अघि बढाएको पहिलो परियोजनाहरूमध्ये एउटा हो । चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र चीन दुई मुलुकबीचको सामाजिक संगठनले सहयोग प्रदान गर्नेछ । यसमार्फत दुई मुलुकबीचको सम्बन्धलाई माथि लैजान सकिन्छ,’ जियान्चाओले भने । 

सोमबार काठमाडौंको वसन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै विदेश विभाग प्रमुख लिउले बालबालिका खुसी भएमात्रै स्वस्थ रहनसक्ने उल्लेख गर्दै राम्रो अध्ययनका लागि बालबालिका स्वस्थ र खुसी हुन जरुरी रहेको पनि बताए । उनले आजका बालबालिका नै भविष्यका नेपाल र चीनका मित्रताका परिपूरक भएको पनि उल्लेख गरे । प्रमुख लिउले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र चीन दुई मुलुकबीचको सामाजिक संगठनमा धेरै सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । उनले चीनमा आएका नेपाली बालबालिकालाई स्वागत गर्न पाए आफू झनै खुसी अनुभव गर्ने र चिनियाँ बालबालिकासँग भेटघाट गराउने प्रतिवद्धतासमेत व्यक्त गरे ।

‘यो कार्यक्रमको विषय धेरै महत्वपूर्ण छ । बालबालिकाहरू पूर्ण र राम्रो खाएर मात्र स्वस्थ हुनसक्छ । र मात्र राम्रो पढ्न सक्छ । राम्रोसँग हुर्किएपछि मात्रै आफू र परिवारलाई राम्रोसँग विकास गर्नसक्छ । चीन र नेपालबीचको युगौंयुगदेखिको आधार धेरै बलियो छ । दुई देशबीचको सम्बन्धको भविष्य उज्यालो छ । मैले आज बिहान बिपी कोइरालाको इतिहास हेरेँ अनि नेपाल र चीनबीचका पुराना नेता र सम्बन्धको ऐतिहासिक कुरा पढेँ,’ जियान्चाओले भने ।  
 
कार्यक्रममा ऊर्जा जलश्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल चीनबीच अन्तरदेशीय क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण गरी स्वच्छ ऊर्जा व्यापारमा सहकार्य हुने विश्वास राखेको बताइन् । उनले लामो समयदेखि चीनले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको उल्लेख गर्दै चीनले आर्थिक तथा प्राविधिक सहयोगबाट नेपालको भौतिक पूर्वाधारको विकास, स्वास्थ्य, शिक्षा, जलश्रोत र खेलकुदमा सहयोग गरिरहेको स्पष्ट पारिन् ।  

‘नेपाल र चीनबीचको आर्थिक सहकार्य, द्विपक्षीय सम्बन्ध स्थापना हुनुभन्दा पहिलेदेखि रही आएको हो । विगत लामो समयदेखि चीनले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । चीनले आर्थिक तथा प्राविधिक सहयोगबाट नेपालको भौतिक पूर्वाधारको विकास, स्वास्थ्य, शिक्षा, जलश्रोत र खेलकुदमा सहयोग गरेको छ,’ उनले भनिन्, ‘सुनकोसी जलविद्युतबाट सरकारी तहमा सुरु भएको सहयोग कार्य निजी क्षेत्रमा निरन्तर बिस्तार भइरहेको छ । दुई देशबीचको व्यापार निरन्तर बिस्तार हुँदै आएको छ । आगामी दिनमा नेपाल चीनबीच अन्तरदेशीय क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण भइ स्वच्छ ऊर्जा व्यापारमा सहकार्य हुने आशा छ ।’ 



मन्त्री भुसालले चीनले नेपालका सांस्कृतिक सम्पदा पुनर्निर्माणमा सहयोग गरेको उल्लेख गर्दै नेपालको विकासका लागि चीनको सहयोग आवश्यक रहेको बताइन् । 



  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार १३:३८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया