श्रीलंका संकट : राष्ट्रपति भवनभित्र घुम्नेदेखि सेल्फी खिच्नेको भिड

रश्मी कविन्ध्याले आफ्नो जीवनकालमा कोलम्बोस्थित श्रीलंकाली राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गर्ने कहिल्यै सपना देखेकी थिइनन् । ठूलो भिडले देशको सबैभन्दा सुरक्षित भवनमध्ये एउटा भवनमा प्रवेश गरेको भोलिपल्ट  कविन्ध्या जस्ता हजारौं मानिसहरू फराकिलो कम्पाउन्ड हेर्न भिडमा छन् । 

यो औपनिवेशिककालीन वास्तुकलाको एक आकर्षक भवन हो जहाँ धेरै बार्दली, बैठक कोठा तथा बस्ने ठाउँ, पौडी पोखरी र विशाल दुबोको मैदान छ । शनिबारको नाटकीय घटनाले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई भाग्न बाध्य पारेको थियो ।

आफ्ना चार छोराछोरी लिएर राष्ट्रपति निवासमा पुगेकी कविन्ध्याले बीबीसीसँग भनिन्, ‘यस ठाउँको ऐश्वर्य र समृद्धि हेर्नुहोस् । हामी गाउँमा बस्छौँ र हाम्रो घर सानो छ । यो दरबार जनताको हो र जनताको पैसाले बनेको हो ।’

हजारौं पुरुष, महिला र केटाकेटीहरू दरबार परिसरभित्र पस्ने प्रयास गरिरहेका थिए । प्रदर्शनकारीमध्ये केहीले भने  भीडलाई नियन्त्रण गरिरहेका थिए । मानव सागर दरबार परिसरमा जाँदा प्रहरी र विशेष फौजहरू एक कुनामा उभिएर चुपचाप हेरिरहेका थिए ।

मानिसहरू एक कोठाबाट अर्को कोठामा घुम्दै दरबारको दृश्यसहित  सेल्फी लिएका थिए । भाँचिएका कुर्सी, झ्यालका फुटेका सिसा र भाँडा भवनका वरिपरि छरिएका थिए । कम्पाउन्डमा प्रवेश गरेपछि भीड अराजक बनेको थियो ।

गनेमुल्ला सहरको बाल मनोरञ्जन पार्कमा काम गर्ने एएल प्रेमवर्द्धनेले भने, ‘यस्तो दरबार हेर्ने मेरो सपना पूरा भएको छ ।’उनले अगाडि थपे, ‘हामी मट्टितेल, ग्यास र खानाको लागि लामो लाइनमा पर्खिरहेका छौं, तर राजापाक्षेहरू फरक जीवन बिताइरहेका थिए ।’



शनिबार राष्ट्रपति निवासमा प्रवेश गरेका प्रदर्शनकारीले निवासभित्र मनलाग्दो काम गरेका छन् । कसैले किचनमा खान पकाएर खाएका छन भने कोही जिम हलमा जिम गरेका छन् । त्यस्तै कोही बाथरुममा नुहाएका छन् भने केहीले राष्ट्रपतिको शयन कक्षमा आराम गरेर रमाएका छन् । श्रीलंकाली सुरक्षाकर्मी उनीहरूका गतिविधिप्रति मूकदर्शक बनेको छ  । 



  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार १४:१०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया