देउवा नेतृत्वको सरकारको बहिर्गमन नै अर्थतन्त्रको निकास : पूर्वअर्थमन्त्री पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधि र मान्यतालाई अस्वीकार गरेर ल्याएको बजेट मान्न नसकिने बताएका छन् । सोमबार अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा आयोजित ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तराष्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
 
गठबन्धन सरकारले ल्याएको बजेट विवादमा परेकाले अहिले मुलुक बजेटविहीन रहेको दाबी गर्दै पौडेलले गठबन्धन सरकारका अर्थमन्त्रीले बजेट गलत विधिबाट ल्याएको बताए । संविधानले गरेको व्यवस्था, कानुन, बजेट निर्माणका मूल्यमान्यतालाई अस्वीकार गरेर निर्माण गरी ल्याएको बजेट जनताले स्वीकार नगर्ने भन्दै उनले बजेटको कुनै अर्थ नभएको बताए । 

पौडेलले बजेट आफैँमा विवादित रहेकाले बजेट बजेटको रुपमा नभएको भन्दै कार्यान्वयन गर्न नसकिने जिकिर गरे । अर्थमन्त्रीलाई छानबिन गर्न संसदीय समिति बनेकाले छानबिन समितिको प्रतिवेदन नआएसम्म बजेटको रुपमा मान्न नसकिने उनको भनाइ छ । 

पूर्वअर्थमन्त्री पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको बहिर्गमन नै अर्थतन्त्रको निकास भएको दाबी गरे । उनले अब फेरि जनताको जनादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने दाबी गरे । नेकपा एमालेले निर्वाचनका माध्यमबाट यो सरकारलाई विस्थापित गरेर र एमालेको नेतृत्वमा जनादेशको आधारमा नयाँ सरकार निर्माण गर्ने उनले दाबी गरे । 

पूर्वअर्थमन्त्री पौडेलले निर्वाचनमार्फत आउने सरकारले अर्थतन्त्रका समस्या, समाजिक जीवन, आर्थिक जीवनका समस्या र लगानीको समस्या समाधान गर्दै देशलाई फेरि पनि आर्थिक समृद्धि बनाएर सामाजिक न्याय र समानताको दिशामा देशलाई लैजाने बताए । 
 





  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार १९:२४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया