डिभिजन प्रमुख कर्णले कमिसनको चक्करमा कमसल निर्माण सामग्रीको प्रयोग गर्न लगाएको आरोप

महोत्तरीको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुखले कमिसनको चक्करमा कमसल निर्माण सामग्रीको प्रयोग गर्न लगाएको आरोप लगाइएको छ जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय महोत्तरीका डिभिजन प्रमुख बरुणलाल कर्णले आफ्नै कार्यालय परिसरभित्र भइरहेको निर्माण काममा कमसल सामग्रीको प्रयोग गर्न लगाएको आरोप लागेको हो ।

यसैबीच, सञ्चारकर्मीले समेत उनको कार्यालय परिसरमा भइरहेको निर्माण कार्यको अवलोकन गर्दा निर्माणमा दुई नम्बर इटाको प्रयोग गरिरहेको पाइएको थियो । त्यहाँ प्रयोग गरिएका इटा दुई नम्बर रहेको सहजै देखिएको थियो । अवलोकन गर्न जाँदा इटालगायतका अन्य निर्माण सामग्रीहरू कमसल प्रयोग गरिएको थियो । 

यसबाहेक उनले करोडौंको योजनाहरुलाई टुक्राटुक्रमा विभाजन गरी आफ्ना आफन्तहरूलाई निर्माण कार्यको जिम्मा दिएको सोही कार्यालयमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए । 

उनले यस कार्यालयमार्फत भएका अन्य निर्माण कार्यहरूमा पनि डिभिजन प्रमुख कर्णको प्रत्यक्ष संलग्नतामा निर्माणमा प्रयोग गरिने ग्राभेल र बेसमा पनि कमसल सामग्री प्रयोग गरिएको बताए । 

प्रमुख कर्णले कमिसनको चक्करमा करोडौंको योजनाहरू आफ्ना आसेपासेलाई बाँडेर गुणस्तरहीन काम गर्न लगाएको उनले जानकारी दिए । आर्थिक वर्षको अन्तिममा हतार–हतार बजेट खर्च गर्न ‘असारे विकास’को परम्परालाई निरन्तरता दिइएको उनको जिकिर छ । प्रमुख कर्णले आफ्नै नातागोता तथा कार्यकर्ता समेटेर आयोजनाको जिम्मा दिई बजेट दुरुपयोग गरेको उनले बताए ।



स्थानीय दशरथ साहले सरकारीस्तरबाट खर्च हुने बजेटलाई जेनतेन खर्चिनुभन्दा तिनको सदुपयोग गर्नु आवश्यक रहेको बताए । ‘असारे विकास’का माध्यमबाट बजेट सक्ने चटारोले रकमको दुरुपयोग बढाउनुका साथै गुणस्तरमा पनि प्रश्न उठेको उनको भनाइ छ । यससम्बन्धमा डिभिजन प्रमुख कर्णले फोनमार्फत कुनै प्रतिक्रिया दिन मानेनन् । उनले कार्यालयमा आएर बुझ्न भन्दै फोन काटेका थिए । 



आर्थिक बर्षको अन्त्यमा आएर मधेस प्रदेशका जिल्लाहरूमा विकासे बजेट सक्न भ्याइनभ्याई रहेको देखिएको थियो । आर्थिक वर्षको अन्त्यमा काम गर्ने पुरानै प्रवृत्तिका कारण विकासे अड्डाहरूमा सत्ताधारी पार्टीका नेता तथा कार्यकर्ताहरूको भिडभाड बढेको थियो । 

स्थानीय स्तरमै उपभोक्ता समिति गठन गर्नुपर्ने कानुनी प्रावधान रहे पनि मन्त्री, नेता र सांसदहरूको सिफारिसमा गठन भएका उपभोक्ता समितिमा सत्ताधारी पार्टीको हालीमुहाली रहेको सहजै देख्न सकिन्थ्यो । यस प्रदेशमा योजनाहरू बिक्री पनि गरिएको प्रमुख प्रतिपक्षको आरोप छ । 

वर्षभरि कामै नगरी आर्थिक वर्षको अन्त्यमा बजेट सक्नकै लागि हतार–हतार देखावटी काम गर्ने पुरानो प्रवृति यथावत रहेको देखियो । परिणाममुखी कार्यक्रम गर्नुको साटो अनावश्यक कार्यक्रममा रकम खर्चिएका उदाहरण मधेस प्रदेशमा प्रशस्तै छन् ।

  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार ९:२२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया