संसदमा उपसभामुख र उपाध्यक्ष पदमा महिला नहुनु लाजमर्दो : वामदेव गौतम

राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर–जिम्मेवारीका कारण संघीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त पदपूर्ति हुन नसकेको दाबी गरेका छन् । मंगलबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सदस्य गौतमले प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताएका हुन् ।

उनले पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने दाबी गर्दै महिला रिक्त पदकै कारण प्रतिनिधिसभामा ४ वर्ष र राष्ट्रियसभामा करिब ४ महिनायता पदपूर्ति हुन नसक्नु दुःखको विषय भएको बताए ।

गौतमले संविधानको धारा ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष भन्ने व्यवस्था गरेको भन्दै उपाध्यक्षबिनाको अध्यक्षको परिकल्पना गर्न नसकिने उल्लेख गरे । उनले दुईमध्ये कुनै एक पदमा महिला अनिवार्य हुने कुरा संविधानले नै उल्लेख गरेको भन्दै पुरुष नभए पनि हुने तर महिला अनिवार्य हुनुपर्ने बताए ।

‘व्यवस्थापकीय सम्बन्धमा प्रतिनिधिसभाको सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको सम्बन्धमा जे व्यवस्था गरेको छ, त्यो व्यवस्थाको सम्बन्धमा मैले सम्बन्धित पक्षको ध्यानाकर्षण गर्नको निम्ति उल्लेख गर्दैछु । संविधानको धारा ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष भन्ने व्यवस्था छ । त्यसमा प्रतिनिधि सभामा पनि र राष्ट्रिय सभामा पनि उपाध्यक्षबिनाको अध्यक्षको परिकल्पना छैन,’ गौतमले भने, ‘यसको अक्षर र भावनामा जाने हो भने हरेक ठाउँमा अध्यक्षसँगै उपाध्यक्ष पनि आउँछ । त्यसमध्ये एक अनिवार्य रूपमा महिला हुनुपर्नेछ । यसको अर्थ के पनि हुन्छ भने पुरुष  महिलामध्ये पुरुष नभएपनि हुन्छ तर महिला अनिवार्य हुनुपर्छ ।’

उनले आफू संविधानको निर्माता भएकोले संविधानविपरीत भइरहेका गतिविधि सहन नसक्दै चेतावनी दिए । गौतमले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला हुँदा पनि संविधानको भावनालाई असर नगर्ने बताए । उनले पदमा पूर्ति गर्नको लागि सरकार, राजनीतिक दल र संसदले नै चासो नदेखाउने दुःखद भएको बताए । 

‘हामीले संविधान निर्माण गर्दा धेरै ठाउँमा एउटा पदमा महिला, अर्कोमा पुरुष राख्ने गरेर बराबरी हक, अधिकार छ भन्ने सन्देश दिनको लागि यो व्यवस्था गरिएको थियो । त्यही व्यवस्था अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था भएको छ,’ उनले भने, ‘सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको पनि त्यही व्यवस्थाअनुसार भएको छ । म संविधान निर्माता पनि हो । मेरो हक हुन्छ कि, मैले निर्माण गरेको संविधानका हरेक विषयमा म त्यसको व्याख्या गर्ने अधिकार राख्छु । राष्ट्रिय सभामा उपाध्यक्ष नभएको ४ महिना भइसक्यो । यहाँ पुरुष अध्यक्ष र महिला उपाध्यक्ष हुने व्यवस्था हो ।’



गौतमले  करिव ४ महिनायता राष्ट्रियसभाका ४ समितिमध्ये तीन वटामा सभापति नरहेको उल्लेख गर्दै सरकार, राजनीतिक दल, राष्ट्रिय सभाका अध्यक्ष, कार्यव्यवस्था समितिको ध्यानाकर्षण गराए । उनले सरकार र राजनीतिक दलहरूको लापरबाहीप्रति महिला सदस्यहरूले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।    



  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १३:०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया