सेन्ट्रल क्यापिटल सर्भिस मेनपावरले ठग्यो कामदार

काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल क्यापिटल सर्भिस मेनपावरले कामदारलाई ठगेको खुलेको छ । सेन्ट्रल क्यापिटलले कामदारबाट चर्को शुल्क लिएको र गन्तव्य मुलुकमा शर्तअनुसारको काम, सेवासुविधा नदिएर ठगी गरेको खुलेको हो । 

सेन्ट्रल क्यापिटल क्यापिटल सर्भिसबाट साउदी अरेबिया गएका ५ जना कामदारले ठगिएको बताएका छन् । ६ महिना पहिले साउदी गएका ५ जना कामदारले आप्रवासी श्रमिकलाई उपलब्ध गराइने परिचय पत्र (अकामा) नपाएको, दैनिक १२ घण्टा काममा लगाउने गरेको तथा अन्य सुविधा नपाएको गुनासो गरेका हुन् । साथै, उनीहरूले सेन्ट्रल क्यापिटल मेनपावरले प्रतिव्यक्तिबाट १ लाख ५० हजारसम्म पैसासमेत लिएको बताएका छन् । 

अकामा नपाउँदा लुकेर बस्नु परेको एकजना कामदारले बताए । उनी भन्छन्, ‘हामी यता आएको छ महिना भयो । अझैपनि हामीले अकामा पाएका छैनौ । दिनमा ८ घण्टाकाम भने पनि यहाँ हामीलाई १२ घण्टा काम लगाइरहेको छ । काम गरे जति तलव पनि दिएको छैन ।’ 

सरकारले २०७२ असारदेखि मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब ईमिरेट्स, कुवेत, बहराइन र ओमान जाने कामदारका लागि भिसा र आतेजाते हवाई टिकट वापत लाग्ने खर्च कामदारले तिर्न नपर्ने नीति ल्याएको थियो । तर, उक्त मेनपावारले भने ढाड सेकिने गरी पैसा असुलेको कामदारका आफन्त बताउँछन् । 

‘यहाँ बस्नै सक्दैनौ । हामी यहाँ जेलमा बसेको जस्तो भएको छ । कि त तलब बढाइ दिनु पर्यो । कि कम्पनि परिवर्तन गरिदिनु पर्यो । कि नेपाल ल्याइ दिनुपर्यो, हामीलाई भने जस्तो कुनै सुविधा छैन । अकामा कहिले बन्छ थाहा छैन, मलाई नेपाल ल्याइदिओस् । मेरो पैसा फिर्ता होस् । पर्सी हामी श्रम अदालत जाँदैछौँ,’ साउदीमा रहेका एक कामदारले भने, ‘आज मिल्छ भोलि मिल्छ भनेर अल्झाएको छ महिना भयो । मेनपावरमा फोन गर्यो भने फोन नै रिप्लाई हुँदैन ।’

यता, सेन्ट्रल क्यापिटल सर्भिसका व्यवस्थापक कुमार तामाङले कामदारको समस्या केही दिनमा समाधान हुने बताए । अकामा उपलब्ध गराउनका लागि कुरा भइराखेको तामाङको भनाइ छ । आफूले कामदारकाबाट न्यूनतम सेवा शुल्क मात्र लिएको तर अन्य एजेन्टमार्फत कामदार ल्याइएको हुँदा उनीहरूले पैसा लिएको विषयमा आफू जानकार नभएको तामाङको भनाइ छ । 



कामदारले विरोध गर्न थालेपछि मेनपावरले घटना मिलाउन उनीहरूका आफन्तलाई बोलाएर केही रकम फिर्तासमेत गरेको स्रोतले बताएको छ ।



  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १४:५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया