सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट बजेट पास गराउन आफैँ सक्रिय भएका छन् ।
असार मसान्तमा बजेट पारित गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । तर, सुदूरपश्चिममा भने अहिलेसम्म बजेटमाथिको छलफलसमेत सुरु हुन सकेको छैन ।
सत्तारुढ दलकै सांसदले बजेटको विरोध गर्नेदेखि प्रदेशसभा बैठक बहिस्कार गर्न थालेपछि बजेट पारित गर्न सरकारलाई सकस परेको हो ।
सरकारलाई सकस परेपछि मुख्यमन्त्री भट्ट आफैँ बजेट पास गराउन भूमिका खेल्न थालेको बताइएको छ । मुख्यमन्त्री भट्टले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा असन्तुष्ट सत्तापक्षका सांसदलाई बोलाएर छलफल गरेका हुन् ।
स्रोतका अनुसार मुख्यमन्त्री भट्टले बजेटको निरन्तर विरोधमा उत्रिएका सांसदलाई फकाउँदै बजेट पारित गर्न सहयोगको आग्रह गरेका छन् ।
यसअघि उनले आफू सम्बद्ध पार्टी नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक नै बोलाएर आफ्ना सांसदलाई बजेटको पक्षमा उभिन निर्देशनसमेत दिएका थिए ।
यहाँ सत्ता पक्षसहित प्रतिपक्षी दलका सांसद सरकारको बजेटप्रति सन्तुष्ट छैनन् । सरकारमा सहभागी एकीकृत समाजवादी र नेपाली कांग्रेसको संसदीय दलले अहिलेसम्म ठोस निर्णय गर्न सकेका छैनन् ।
उनीहरू संशोधन नहुँदासम्म यथास्थितिमा बजेट पास गर्न नदिने अडान कायम राखेका छन् । बहालवाला मन्त्री र मन्त्रीको आश्वासन पाएकाहरूबाहेक अन्य बजेटमा विरोधमा छन् ।
प्रदेशको सबैभन्दा ठूलो पार्टी एकीकृत समाजवादीसमेत एक हुन सकेको छैन् । प्रदेशसभाको बैठक अहिले ३ बजेका लागि बोलाएको भए पनि बस्न सकेको छैन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।