ओली र सीपीसी विदेश विभाग प्रमुख लिउबीच के भयो कुराकानी ?
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ​बीच भेटवार्ता भएको छ । मंगलबार पूर्वप्रधानमन्त्री ओली निवास बालकोटमा भएको भेट भएको हो । 

भेटका क्रममा विदेश विभाग प्रमुख लिउले क्षेत्रीय राजनीति र अन्तर्राष्ट्रिय राजनीतिमा आइरहेको बदलावका बारेमा ओलीसँग विशेष छलफल गरेका थिए । 

छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले दुवै पक्षबाट पारस्परिक हित र लाभका आधारमा सम्बन्ध अघि बढाउनेबारे छलफल भएको बताए । 

उनले भेटमा चिनियाँ विदेश विभाग प्रमुख लिउले चीनले नेपालको विकासलाई निरन्तर रुपमा अघि बढाउन चाहेको उल्लेख गरेको बताए । 

त्यस्तै, अध्यक्ष ओलीले विगतदेखिको एक चीन नीति र नेपाली भूभाग चिनियाँ वा अरु कुनै पनि मित्रराष्ट्र विरुद्ध प्रयोग गर्न नदिने प्रतिवद्धता जनाएको उनले उल्लेख गरे । उनले अध्यक्ष ओलीले आगामी दिनमा पनि अहिलेझैँ नेपाल र चीनको सम्बन्ध सुमधुर बनाएर जाने प्रतिवद्धता व्यक्त गरेको बताए । 

‘चीनले नेपालको विकासलाई निरन्तर रुपमा अघि बढाउन चाहेको कुरा चीनको तर्फबाट आएको छ भने नेपालको तर्फबाट विगतदेखिको एक चीन नीति र नेपाली भू-भाग चिनियाँ वा अरु कुनै पनि मित्रराष्ट्रका विरुद्ध प्रयोग गर्न नदिने हाम्रो पुरानो प्रतिवद्धतामा नेकपा एमाले प्रतिवद्ध छ र हामी निरन्तर रुपमा अघि बढाउन चाहन्छौं भन्ने कुरा राख्यौँ,’ उनले भने ।



भेटमा नेपालको कम्युनिस्ट पार्टीको मिलाप र एकीकरणको कुरा आन्तरिक कुरा भएकोले चीनले यसमा कुनै धारणा नराख्ने चिनियाँ पक्षले स्पष्ट पारेको छ ।

आइतबार चारदिने नेपाल भ्रमणमा आएका विदेश विभाग प्रमुख लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसकेका छन् । 



विदेश विभाग प्रमुख लिउ बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने र सोही दिन बेलुका स्वदेश फर्किने तालिका छ । 

  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १६:५६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया