श्रीलंकाली राष्ट्रपतिले गरे राजीनामापत्रमा हस्ताक्षर, रनिल अस्थायी राष्ट्रपति बन्ने

राष्ट्रपति गोटाबाया राजापाक्षले सोमबार भोलिदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका छन् । 

उनले गत सोमबार २९ असारको मिति राखेर राजीनामापत्रमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा भोलि हुनेछ । 

राष्ट्रपति गोटाबायाले राजीनामापत्रमा हस्ताक्षर गरेर वरिष्ठ सरकारी अधिकारीलाई हस्तान्तरण गरेका तथा ती अधिकारीले सभामुख सभामुख महिन्दा यापा आबेवर्देनालाई बुझाउने डेली मिररले जनाएको छ । 

संसद्बाट भोलि उनले गोटाबाया राजापाक्ष देशको राष्ट्रपति नरहेको सार्वजनिक घोषणा गर्नेछन् ।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले भोलि नै अस्थायी राष्ट्रपतिका रूपमा शपथ लिनेछन् । संसदबाट नयाँ राष्ट्रपति चयन नभएसम्म उनले नै शासन सञ्चालन गर्नेछन् । 

सभामुखले आगामी साउन ४ गते संवैधानिक प्रावधानअनुसार नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरिएको जानकारी राजनीतिक दलका नेताहरूलाई दिएका छन् । राष्ट्रपति पदका लागि साउन ३ गते उम्मेदवारी मनोनयन गरिनेछ । 



प्रधानमन्त्री रनिल विक्रमासिङ्घे र विपक्षी दलका नेता सजिथ प्रेमदासा उम्मेदवार बन्ने पुष्टि भइसकेको छ । प्रेमदासाले देशको अर्थतन्त्र पुनर्निर्माण गर्न आफू तयार रहेको जानकारी हिजो दिएका थिए । 

यसअघि प्रधानमन्त्री विक्रमासिङ्घेले पनि पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।  



राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले पदबाट राजीनामा नदिएसम्म त्यहाँबाट बाहिर ननिस्कने स्पष्ट पारेका छन् । शनिबार राष्ट्रपति गोटाबाया देश छाडेर भागेको बताइएको थियो । 

चरम भ्रष्टाचार, गृहयुद्ध, विद्रोह एवम् महामारीका कारण केही महिनायता श्रीलंकाले अकल्पनीय आर्थिक संकटको सामना गरिरहेको छ । 

आर्थिकरूपमा टाटपल्टिएको श्रीलंकामा इन्धनका साथै दैनिक उपभोग्य वस्तुको चरम अभाव छ । 

बाह्य ऋणको भारीले थिलथिलो भएको टापुराष्ट्रमा नयाँ राजनीतिक नेतृत्वले देशलाई आर्थिक संकटबाट मुक्त गर्न कठोर परिश्रम गर्नुपर्नेछ । 

  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १७:४२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया