अध्यक्ष नेपाल र लिउबीच भेटवार्ता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियान्चिओबीच भेटवार्ता भएको छ । 

मंगलबार अपराह्न अध्यक्ष नेपाल र लिउबीच कठमाडौंको एक होटलमा भेट भएको हो । भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले नेपाल र चीनबीचको सम्बन्धका बारेमा कुरा गरेको बताए । 

चिनियाँ पक्षबाट नेपाली भूमिको प्रयोगका बारेमा कुरा राखेको र आफूले कुनै देशलाई पनि नेपाली भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेको उनले बताए । अध्यक्ष नेपालले नेपालको कम्युनिस्ट र चीनको कम्युनिस्ट जनवर्गीय संगठनका बारेमा पनि कुरा भएको बताए । 
चीनसँग नेपालको कुनै समस्या नभएको भन्दै उनले अझै चीन र नेपालबीचको सम्बन्धलाई सुमधुर बनाएर लैजाने कुरा राखेको बताए । चिनियाँ पक्षले नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको कुराको चर्चा गर्दै विभिन्न पार्टीसँगको सम्बन्धलाई बलियो बनाउन चाहेको कुरा राखेको उल्लेख गरे । 

लिउले आफू विदेश विभाग प्रमुख भएपछि पहिलो प्राथमिकता नेपाललाई दिएको कुरा राखेको भन्दै अध्यक्ष नेपालले दिव्पक्षबीचको भेटवार्ता फलदायी भएको बताएका थिए । 

दुई देशबीचको सम्बन्धलाई बलियो बनाएर लैजाने कुरामा दुवै पक्षले कुरा राखेको उल्लेख गर्दै अध्यक्ष नेपालले नेपालका कम्युनिस्टहरु एकताबद्ध भएर अघि बढे राम्रो रहेको कुरा प्रमुख लिउले राखेको बताए । चिनियाँ पक्षले राखेको सुरक्षा चासोको बारेमा स्पष्ट गर्ने काम भएको उनले बताए । 

गत आइतबार ४ दिने नेपाल भ्रमणमा आएका विदेश विभाग प्रमुख लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसकेका छन् । 



विदेश विभाग प्रमुख लिउले बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने र भोलि बेलुका नै स्वदेश फर्किने कार्यतालिका छ । 
 



  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १८:७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया