जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिले गर्‍यो अर्थसँग कागजात र विवरण माग्ने निर्णय

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुधबार अर्थ मन्त्रालयसँग जनार्दन शर्मासँग सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको पहिलो बैठकले समितिको कार्यविधि पास गर्दै पूर्वअर्थमन्त्री शर्मासँग सम्बन्धित कागज तथा विवरणको लागि पत्राचार गर्ने निर्णय गरेको समिति सचिव सुरेन्द्र अर्यालले बताए । उनले आजको बैठकले छानबिन समितिको सभापति सर्वसम्मतिबाट छान्ने निर्णय भएको पनि बताए । 

सचिव अर्यालले सर्वसहमतिबाट सभापति छान्न सदस्यहरूले आन्तरिक छलफल गर्ने विषयमा छलफल भएको जानकारी दिए । उनले आजको बैठकको सभापतित्व ज्येष्ठ सदस्यका हैसियतमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले गरेको बताए । सचिव अर्यालले अर्को बैठक बुधबार दिउँसो बस्ने बताए । 

उनले भने, ‘समितिको सभापति आन्तरिक छलफल गरेर सर्वसहमतिबाट चयन गर्ने छलफल भएको छ । बुधवार साढे दुई बजे अर्को बैठक बस्ने आवश्यक कागज सम्बन्धमा अर्थ मन्त्रालयसँग पत्राचार गरेर विवरण माग गर्ने निर्णय भएको छ ।'

पूर्वअर्थमन्त्री शर्माले अर्थमन्त्री हुँदा २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय छिराएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विषेश छानबिन समिति बनेको छ । पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । 

संसदीय छानबिन समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य रहेका छन् भने समितिमा नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत रहेका छन् । 



यस्तै, नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा छन् । छानबिन समितिले पहिलो बैठक बसेको १० दिनभित्र रिपोर्ट तयार पारिसक्नु पर्नेछ ।



  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १८:४५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया