जापानका पूर्वप्रधानमन्त्री आबेको अन्त्येष्टि

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मंगलबार अन्त्येष्टि गरिएको छ ।  जापानका लोकप्रिय नेता आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला एक व्यक्तिले गोली प्रहार गरेपछि निधन भएको हो । 

गोली प्रहार गरेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ४१ वर्षका ती व्यक्तिले घरेलु बन्दुक प्रयोग गरेको पाइएको छ । 

टोकियो टावरमा रहेको जोजोजी मन्दीरमा उहाँको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिका क्रममा उनकी श्रीमती अकी, जापानका प्रधानमन्त्री फुमियो किशिदा, केही सांसदहरू र विदेशी प्रतिनिधि तथा व्यावसायिक अगुवालगायत सहभागी भएका थिए । सन् १९५४ मा जन्मिएका आबेको ६७ वर्षको उमेरमा हत्या भएको हो । 

देशको पश्चिमी क्षेत्रमा पर्ने नारा भन्ने सहरमा चुनावी मन्तव्य दिइरहेका बेला उनको हत्या भएको हो । लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेता समेत रहेका आबेले आफ्नो पार्टीलाई जिताउनका लागि चुनावी सभाहरूमा सम्बोधन गर्दै आएका थिए । आबेको निधन भए पनि पूर्वनिर्धारित निर्वाचन भने गत आइतबार नै भएको छ ।

दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाएका आबले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए । आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उनले राजीनामा दिएका थिए । 

उनी सन् १९९३ देखि निरन्तर नौ पटक सांसद भएका थिए । उनले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गरेका थियो भने सरकारी भूमिकामा मन्त्रिपरिषद्को उपप्रमुख सचिव र प्रमुख सचिव भएर काम गरेका थिए । मन्त्रिपरिषद्‌मा भने २००५ मा उनले पहिलो पटक सहभागी हुने मौका पाएका थिए ।



उनी पहिलो पटक सन् २००६ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्यति बेला उनी जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए । अस्वस्थताका कारण त्यो कार्यकाल उनको २००७ सम्म मात्रै रह्यो । 

त्यतिबेला उनलाई आन्द्राको समस्या थियो । त्यसपछि निको भएर फेरि राजनीतिमा फर्किएका उनले आफ्नो पार्टीलाई अत्यधिक मतका साथ विजयी गराएपछि सन् २०१२ देखि २०२० सम्म निरन्तर जापानको प्रधानमन्त्री बने । 



उनले पछिल्लो पटक पनि कार्यकाल बाँकी रहेकै बेला अस्वस्थताका कारण सन् २०२० को अगस्ट २४ मा प्रधानमन्त्री पदबाट स्वेच्छाले त्यागेका थिए । आबेले आफ्ना विश्वास पात्र तथा निकटतम सहयोगी योशिहिदे सुगालाई आफ्नो उत्तराधिकारी बनाएका थिए ।

  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार २०:४७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया