प्रतिनिधिसभाको बैठकमा सत्तारूढ नेपाली कांग्रेसका सांसदले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्न उठाएका छन् ।
कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले मौद्रिक नीतिसँग जोडेर केही सुझाव दिँदै अधिकारीमाथि व्यङ्ग्य पनि गरेका छन् ।
तरलताको अभाव, चुलिँदा व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, आकासिँदो मूल्यबृद्धि र मागमा संकुचन जस्ता चुनौतीलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्ने सुझाव थापाले दिए ।
सुझावको अन्त्यमा व्यङ्ग्य गर्दै थापाले आफूले दिएको सुझाव राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भएको तर नेकपा एमालेको अर्थ योजना विभागका एम अधिकारीले हो भनेर नबुझ्न आग्रह गरे ।
एमालेको अर्थ योजना विभागमा एम अधिकारी, खोटाङ भनिएका व्यक्ति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको चर्चा चलेको बेला थापाले यस्तो व्यङ्ग्य गरेका हुन् ।
'शेयर बजारमा सुधार गर्ने भनेर ४/१२ को नीति ल्याइयो । सरले ठूला घरानालाई पोस्ने, सानोलाई कस्ने काम भयो । राष्ट्र बैंकले जे सोचेको भए पनि अपेक्षा गरेको परिणाम नआइसकेपछि अब यसलाई सच्याउनुपर्छ । यसलाई सच्याइएन, बन्द गरिएन भने लाखौं शेयरमा लगानी गरेका साना लगानीकर्ता सडकमा आइपुग्छन् । मैले गरेको यो सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो । नेकपा एमालेको अर्थ योजना विभागका मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नु भएमा क्षमा चाहन्छु' उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।