सुर्खेतका व्यवसायीले मागे स्थानीय तहको साथ

व्यवसायबाट पलायन हुनुपर्ने अवस्थाको सृजना भएको महसुस गरिरहेका सुर्खेतका व्यवसायीहरू वर्तमान समयमा स्थानीय तहले समेत व्यवसायीको समस्याका विषयमा सक्रियता बढाओस् भन्ने अपेक्षा राख्छन् ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले भने, ‘व्यवसाय छोडेर पलायन हुनुपर्ने अवस्थाको सृजना हुन थालेको छ । धेरै व्यवसायीहरू बैंकको कालोसूचीमा पर्ने सम्भावना बढेको छ । यस्तो अवस्थामा जिल्ला स्थित स्थानीय तहहरूले समेत यस विषयलाई गम्भीरताका साथ लिनुपर्ने समय आएको छ ।’

सरकारको दायित्व कर असुली मात्र नभई नागरिकका विविध समस्याका समयमा हातेमालो गर्नु रहेको अध्यक्ष कँडेल पत्ताउँछन् । स्थानीय तहले समेत वीरेन्द्रनगर स्थित बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्न सक्नुपर्ने उनले बताए । उनले भने, ‘स्थानीय तहले पनि व्यवसायी लाभान्वित हुने गरी कार्यक्रम सहित नेतृत्व गर्न सकेको खण्डमा यहाँका व्यवसायीलाई यो अप्ठ्यारो समयमा राहत महसुस हुने थियो ।’

व्यवसायी र स्थानीय तह बिचको प्रत्यक्ष सम्बन्ध भनेकै घर बहाल कर र व्यवसाय करमा जोडिएको देखिन्छ । यी दुई विषयमा सुर्खेतमा प्रदेशकै राजधानीका हैसियतले पनि वीरेन्द्रनगर नगरपालिका बढी लाभान्वित छ । व्यवसायीबाट उठेको राजस्वले नगरपालिकाको आर्थिक क्षेत्रमा योगदान पुर्‍याएको छ ।

घर बहाल कर र व्यवसाय करबाट वीरेन्द्रनगर नगरपालिकाले मात्रै वार्षिक रूपमा करोडौँ राजस्व आम्दानी गर्ने गरेको छ । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक ऐन २०७४ मा नगर क्षेत्र भित्र घर बहालमा लिई सञ्चालनमा रहेका व्यवसायले स्थानीय तहलाई बहाल कर बापतको रकम बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

ऐनमा ‘नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पुरै वा आंशिक तवरले बहालमा दिएकोमा बहाल रकमको १० प्रतिशतका दरले घर जग्गा बहाल कर लगाइने र असुल उपर गरिने’ जनाइएको छ ।



सोही अनुसार व्यवसायीले नगरपालिकालाई कर तिर्दै आएका छन् । २०७६/०७७ यता मात्र वीरेन्द्रनगर नगरपालिकाले नगर स्थित व्यवसायीहरूबाट घर बहाल कर बापत एक करोड ९५ लाख चार हजार आठ सय चार रुपैयाँ राजस्व सङ्कलन गरिसकेको छ । र, आगामी आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले घर बहाल कर बापत तीन करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।
यो अवस्थामा स्थानीय सरकारले व्यवसायीबाट कर सङ्कलन मात्र गर्ने भन्दा पनि व्यवसायीको समस्यामा पनि साथीको रूपमा प्रस्तुत हुनुपर्ने अध्यक्ष कँडेलले बताए ।

वीरेन्द्रनगर नगरपालिकामा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई घर बहालको अर्को पिडा पनि सँगै थपिएको छ । खास गरी नगरको बजार क्षेत्रमा बहालमा कोठा/घर लिएर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी हालको समयमा चर्को घर बहाल रकमले सास्ती भोगिरहेका छन् ।



व्यवसायी रामप्रसाद जैसीले भने, ‘खास गरी वजार क्षेत्रमा बहाल निकै महँगो छ । सरदर रूपमा सामान्य कोठाको ५० हजार रुपैयाँ पर्न जान्छ । अहिले अवस्थामा कतिपय व्यवसायीहरू बैंकको व्याज सँगसँगै घर बहाल रकम पनि तिर्न नसकेको अवस्था छ । यस्तै रह्यो भने व्यवसाय घर बहाल धनीको हातमा बुझाएर पलायन हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न ।’

महँगोमा बहालमा कोठा/घर लिएका व्यवसायीहरू सोही अनुसारको राजस्व स्थानीय तहलाई बुझाएका पनि छैनन् । जैसीले भने, ‘पहिले त घरबेटीहरू लिइएको बहाल बमोजिम कागजी सम्झौता गर्न मान्दैनथे । अहिले अलि फेरिएको छ । सम्झौता गरिदिए पनि बहाल रकम थोरै राखेर सरकारी निकायमा कागजपत्र पेस गरिएको हुन्छ ।’

यस्तो अवस्थाले एकातिर स्थानीय तहलाई राजस्व आम्दानीमा समेत असर परिरहेको छ त अर्को तर्फ वीरेन्द्रनगरको व्यावसायिक स्थितिमा समेत प्रभाव परिरहेको देखिन्छ । यस अवस्थामा नगरले क्षेत्र अनुसारको बहाल रकम तोक्दै कानुन संवत् रूपमा व्यवसाय सञ्चालनको वातावरण सृजना गर्नुपर्ने उनको धारणा छ ।

आर्थिक तरलताले उत्पन्न व्यवसायीक समस्या लिएर अहिले सुर्खेत उद्योग वाणिज्य संघको नेतृत्वमा व्यवसायीहरू बैंकमा आफ्नो अनुरोध पत्र सहित पुग्न थालेका छन् । मंगलबार व्यवसायीहरूको समूह वीरेन्द्रनगर स्थित बैंक तथा वित्तीय संस्थाहरूमा आफ्ना अनुरोध पत्र सहित पुगेका हुन् । व्यवसायीहरूले बैंकसँग ऋणमा बढेको व्याज मा कमी ल्याउनुपर्ने र व्यवसायीलाई असार मसान्तमा भुक्तानी गर्नुपर्ने व्याजको लागि केही समय प्रदान गर्नुपर्ने माग गरेका छन् ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले भने, ‘बैंकहरुले हाल बढाएको व्याज मा सहुलियत दिनपर्ने र हामी व्यवसायीलाई ६ महिना सम्मको ऋणको भाका दिनुपर्ने हाम्रो माग रहेको छ ।’ 

  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार १५:११:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया