प्रदेश-१ का मन्त्री कार्कीको अभिव्यक्ति आपत्तिजनक : पत्रकार महासंघ

प्रदेश-१ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ मोरङले आपत्ति जनाएको छ । 

बुधबार पत्रकार महासंघ मोरङ शाखाका सचिव नेत्र पि अधिकारीले विज्ञप्ति निकाल्दै मन्त्री कार्कीले दिएको अभिव्यक्ति आपत्ति जनाएका हुन् । 

केही दिनअघि विराटनगरको स्थानीय एक अनलाइनलाई अन्तर्वार्ता दिने क्रममा मन्त्री कार्कीले अश्लील शब्द बोल्दै आपत्तिजनक अभिव्यक्ति दिएका थिए । 

निर्वाचन क्षेत्रमा पर्ने विराटनगर–१२ स्थित एकीकृत सुकुम्बासी बस्तीमा मन्त्री कार्कीले आर्थिक वर्षको अन्त्य हुन लागेको मौकामा रकमान्तर गरेर ७० लाख रुपैयाँ पठाउन खोजेका थिए । 

उक्त बस्ती निर्माणका लागि महानगरपालिकाले ४० लाख रुपैयाँ खर्च गरिरहेको र उक्त रकम पूर्ण रूपमा खर्च नभएको अवस्थामा आर्थिक वर्षको अन्त्यमा थप ७० लाख रुपैयाँ निकासा गरेपछि मन्त्री कार्की र महानगरपालिकाबीच रकम खर्च गर्ने विषयमा विवाद भएको थियो ।

महानगरपालिकाले भने प्रदेश सरकारबाट आर्थिक वर्षको अन्त्यमा ७० लाख रुपैयाँ निकासा भएर आउन लागे पनि छोटो अवधिमा उक्त रकम खर्च गर्न नसकिने मनसाय व्यक्त गरेको थियो । मन्त्री कार्कीलाई भने रकम खर्च गर्न दबाब दिएको आरोप लागेको थियो । 



महानगरपालिका नेतृत्वसँग रकम खर्च गर्ने बिषयमा भएको विवादबारे विभिन्न संचारमाध्याममा समाचार आएपछि मन्त्री कार्की आक्रोशित बनेका थिए । 

उनले महानगरपालिकालाई रकम खर्च गर्न दबाब दिएको विषयमा समाचार प्रकाशन गर्ने पत्रकारलाई लक्षित गर्दै आफूलाई आरोप लगाएजस्तै पत्रकारलाई पनि बलात्कारको आरोप लगाउन सकिने भन्दै आपत्तिजनक अभिव्यक्ति दिएका हुन् ।



उनको सो अभिव्यक्तिको यतिबेला चौतर्फी आलोचना भइरहेको छ । सोही अभिव्यक्तिका कारण उनी अहिले विवादित भएका छन् । 

पत्रकार महासंघ मोरङले समाचारमा आएका विषयप्रति असहमति राख्ने, खण्डन गर्ने, उजुरी गर्ने कानुनी बाटो हुँदाहुँदै समाचार लेख्ने पत्रकारलाई बलात्कारी बनाउनेसम्मको धम्की दिनुले विधिको शासनको उपहास भएको जनाएको छ । 

महासंघले यस प्रकारका अभिव्यक्तिबाट विचलित नभई कार्यक्षेत्रमा सकृय रहन पत्रकारलाई आग्रहसमेत गरेको छ । 

यसैबीच पत्रकार सम्बद्ध विभिन्न संघसंगठनले पनि मन्त्री कार्कीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रेस चौतारी र प्रेस युनियनले विज्ञप्ति प्रकाशित गर्दै मन्त्री कार्कीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार १५:२३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया