चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चारदिने नेपाल भ्रमण गरेका छन् । उनी विदेश विभाग प्रमुख नियुक्त भएपछिको पहिलो विदेश भ्रमण नेपालमा भएको हो ।
नेपालमा चार दिन शीर्षस्थ नेताहरूलाई भेटेर बिताए । उनले नेपाल बसाइँका क्रममा नेपाली भूमि चीनविरुद्ध प्रयोग नहोस् भन्ने सन्देश दिएका थिए । उनले नेताहरूसँगको भेटका क्रममा पनि सो विषय उठाएका थिए ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले भेटका क्रममा लिउले चीनविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता जाहेर गरेको बताए ।
बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले विदेशीले चीनविरुद्ध नेपालको भू–भाग प्रयोग गर्ने हुन् कि भन्ने चिन्ता चीनको रहेको बताएका हुन् ।
उनले लिउको भ्रमण सो कुरा जायर गर्नका लागि भएको बताए । उनले नेपालका सबै पार्टीले एक चीन नीति लिने र चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिवद्धता व्यक्त गरेको बताए ।
पूर्वप्रधानमन्त्री खनालले लिउको पहिलो भ्रमण नेपालमा गर्नुले चीनले नेपालसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेको देखाएको बताए । यो भ्रमणसँगै नेपाल र चीनबीचको आगामी सम्बन्ध अझ राम्रो हुने उनले उल्लेख गरे ।
‘चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुख भर्खरै नयाँ नियुक्त हुनुभएको छ । नयाँ नियुक्त भएपछि सबभन्दा पहिलो विदेश भ्रमण नेपालको गर्नुभयो । त्यसको अर्थ के हो भने चीनले नेपालसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राख्छ । र, छिमेकसँगको सम्बन्धलाई राम्रो बनाउने उसको दृष्टिकोण छ,’ उनले भने ।
यता, नेकपा माओवादी केन्द्रका नेताहरूको भनाइ पनि सम्मानित नेता खनालको जस्तै छ । माओवादीका नेता तथा सांसद हरिबोल गजुरेलले नेपालका पछिल्ला केही निर्णयका कारण चीन सशंकित भएका कारण विदेश विभाग प्रमुखको नेपाल भ्रमण भएको बताए ।
पछिल्ला निर्णयका कारण नेपाल अस्थिर र अशान्त हुने हो कि भन्ने चिन्ता पनि चीनमा रहेको उनको भनाइ छ । उनले नेपालमा शान्ति र स्थिरता रहोस् भन्ने चीनको सदिक्षा रहेको बताए ।
‘मुख्यतः नेपालमा शान्ति र स्थिरता रहोस् भन्ने चीनको जहिले पनि सदिक्षा हुन्छ । कतै नेपाल अस्थिर हुने हो कि, अशान्त हुने हो कि भन्ने चिन्ताले गर्दा अहिलेका केही निर्णयले अलि सशंकित गराएको सन्दर्भमा यो भ्रमण भएको हो,' उनले भने ।
उनले चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका वामपन्थीहरू एकै ठाउँमा आइदिउन् भन्ने चाहना राख्नु स्वभाविक भएको पनि बताए । यद्यपि, एकता गर्ने/नगर्ने भन्ने कुरा नेपालको राजनीतिक दलहरूकै प्राथमिकताको विषय भएको उनको भनाइ छ ।
'चिनियाँ कम्युनिष्ट पार्टी नै भएको कारणले गर्दा स्वभाविक रूपमा वामपन्थी एक ठाउँमा आइदिउन् भन्ने उनीहरूको चाहना हुने नै भयो त्यो । स्वभाविक कुरो त्यसलाई हामीले अन्यथा लिनुहुन्न । तर, पनि फेरि यहाँ एकता गर्ने, नगर्ने भन्ने कुरो नेपालको राजनीतिक दलहरूकै प्राथमिकताको विषय हो’ उनले भने ।
नेकपा एमालेका नेता तथा सांसद प्रदीपकुमार ज्ञवालीले चीनले नेपालको एक चीननीतिमा निरन्तरता खोजेको बताए । नेपालको भूमि चीनविरुद्ध प्रयोग नहोस् भन्नेमा चीन संवेदनशील देखिएको उनले बताए ।
त्यसैगरी नेपालमा राजनीतिक स्थायित्व हुनका लागि सबै राजनीतिक दलहरूबीच समझदारी गरेर अगाडि बढ्दा राम्रो हुने सन्देश चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको भ्रमणले दिएको नेता ज्ञवालीको भनाइ छ ।
उनका अनुसार लिउले नेपाल भ्रमणका क्रममा तीन वटा विषयलाई प्राथमिकतामा राखेका थिए । पहिलो, नेपालको भूमि चीनविरुद्ध प्रयोग नहोस्, दोस्रो, नेपालमा राजनीतिक स्थायित्व होस् र तेस्रो, एशियामा शक्ति राष्ट्रहरूको हस्तक्षेप नबढोस् भन्ने सन्देश लिउले दिन चाहेको नेता ज्ञवालीले बताए ।
‘सन्देशको हिसाबले पहिलो, नेपालको भूमि चीनविरुद्ध प्रयोग नहोस् भन्ने कुरामा चीन अलि बढी संवेदनशील देखिन्छ । दोस्रो, नेपालमा राजनीतिक स्थायित्व होस्, नेपाल समृद्ध होस्, बलियो होस् भन्ने उहाँहरूले भन्ने गर्नुभएको छ । तेस्रो, एशियामा शक्ति राष्ट्र बाछिटा नेपालमा नपरोस् र त्यसमार्फत चीनको संवेदनहीलतामाथि असर नपरोस् । यिनै-यिनै कुरा उहाँहरूको सरोकार देखिन्छ’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।