नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले गठबन्धन सरकार आफ्नो मूल उद्देश्यमा सफल भएको दाबी गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गजुरेलले वर्तमान सत्तारूढ गठबन्धन आफ्नो मूल उद्देश्यमा सफल भएको बताएका हुन् ।
उनले सरकार प्रतिगमनविरोधी मोर्चामा सफल भएको बताए । उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर पश्चगामी शक्तिलाई कमजोर बनाइएको पनि बताए ।
‘यो सरकारको काम मलाई लाग्छ प्रतिगमनविरोधी मोर्चामा चाहिँ यो सफल भयो । पहिलेको सरकारको तुलनामा त्यस्तो धेरै आक्षेप, आरोप पनि यसले भोग्नुपरेन । यसको मूल उद्देश्यमा सफल भएको छ' उनले भने ।
नेता गजुरेलले सरकारले कोभिड–१९ विरुद्धको संघर्षमा प्रभावकारी काम गरेको बताए । उनले सरकारले सन्तुलित र जनमुखी बजेट ल्याएको उल्लेख गरे ।
अर्थतन्त्र धरासयी हुने चिन्ताको बीचमा सरकारले अर्थतन्त्रलाई स्थिर राख्ने कोशिस गरेको उनको भनाइ छ ।
'अर्थतन्त्र पनि जसरी धरासायी हुन्छ भन्ने चिन्ता थियो त्यसलाई स्थिर राख्ने नै कोशिस गर्यो । राष्ट्र बैंकसँग केही टसल परे पनि त्यसलाई पनि व्यवस्थापन गर्यो । तर, समग्र जनअपेक्षा अनुसार फेरि काम गर्न सकेको छैन’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।