माल्दिभ्स भागेका श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे सिंगापुर जाने
फरकधार / २९ असार, २०७९
फाइल तस्वीर

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे माल्दिभ्सबाट सिंगापुर जाने भएका छन् । बुधबार सबेरै श्रीलंकाको राजधानी कोलम्बोबाट माल्दिभ्सको राजधानी माले गएका राजापाक्षे मालेमा एक दिन पनि पूरा नबसी बुधबार राति सिंगापुर जान लागेका हुन् ।

आफ्नै देशभित्र असुरक्षा भएको भन्दै देश छाडेका राजापाक्षेलाई भाग्न श्रीलंकाको सेनाले नै सहयोग गरेको छ । सेनाकै सहयोगमा सेनाको जहाजमा उनी बिहान सबेरै कोलम्बोबाट माले पुगेका थिए ।
 
यसअघि उनका अर्का भाइ तथा पूर्वअर्थमन्त्रीलाई भने भाग्न खोज्दा सेनाले अवरोध गरेर फर्काएको बताइएको छ ।

तत्कालीन राष्ट्रपति राजापाक्षेलाई भने रक्षा मन्त्रालयको आदेश र स्वीकृतिमा माल्दिभ्स लगिदिएको श्रीलंकाको सेनाले जनाएको छ । सेनाले आफू खुशी लगेको नभई बहालवाला उच्च निकायका अधिकारीको आदेशमा काम गरेको स्पष्ट पारेको छ ।



राजापाक्षसँगै उनकी श्रीमती र दुई अंगरक्षकसमेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका हुन् ।  



उनीहरू चारै जनालाई श्रीलंकाको कातुनायके अन्तर्राष्ट्रिय विमानस्थलबाट माल्दिभ्सको भेलाना अन्तर्राष्ट्रिय विमानस्थल माले लगिएको थियो ।

राजापाक्षेले देश छाडेको खबरले थप आक्रोशित भएका प्रदर्शनकारीका हिंसा भड्किन नपाओस् भन्ने उद्देश्यले श्रीलंकामा अहिले आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।

प्रधानमन्त्री रानिल विक्रमसिङ्घेले बुधबार आपतकालीन अवस्थाको घोषणा गरेका हुन‍् । सम्भावित हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै देशको पश्चिमी प्रान्तमा कफ्‌र्यु पनि लगाइएको छ ।

प्रधानमन्त्री विक्रेमेसिङ्घेको निवासबाहिर तैनाथ सुरक्षाकर्मीहरूले अश्रुग्यास प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पारेको समाचारमा जनाइएको छ ।

विक्रमासिङ्घेले दङ्गा मच्चाउनेलाई गिरफ्तार गर्ने ठाडो आदेश पनि दिएको श्रीलंकाको डेली मिरर पत्रिकाले जनाएको छ ।

तर, श्रीलंकाको विपक्षी दलका नेता सजिथ प्रेमादासले भने प्रधानमन्त्री विक्रमासिङ्घेले राष्ट्रपतिको अधिकार प्रयोग गर्न नपाउने दावी गरे । प्रधानमन्त्रीले आपतकाल घोषणा गर्न नमिल्ने पनि उनको भनाइ ।

प्रधानमन्त्रीलाई राष्ट्रपतिले कार्यवाहक राष्ट्रपति नियुक्त गरेमा मात्रै दीर्घकालीन असर नपर्ने गरी कामचलाउ काम मात्रै गर्न पाउने उनको तर्क छ । प्रधानमन्त्रीले पनि राष्ट्रपतिको अधिकार र जिम्मेबारी पाएझैँ काम गर्नु संविधानको दुरुपयोग भएको उनको दाबी छ ।

  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार २०:२३:३६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया